वीरगञ्जमा राष्ट्रिय कर दिवस तथा कर सप्ताह सम्पन्न, उत्कृष्ट तीन करदाता सहित विद्यार्थी र कर्मचारी सम्मानित
वीरगञ्ज, मंसिर ७ आनन्द पटेल।
आन्तरिक राजस्व कार्यालय वीरगञ्जको आयोजनामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह २०८३ को समापन समारोह आइतबार सम्पन्न भएको छ। ‘कर न्याय र सुशासनको सुनिश्चितता, समृद्धिमा नागरिक सहभागिता’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा उत्कृष्ट कर अनुपालन गर्ने तीन जना करदातासहित निबन्ध प्रतियोगिताका उत्कृष्ट विद्यार्थी र एक जना कर्मचारीलाई सम्मान गरिएको छ।
आन्तरिक राजस्व कार्यालय वीरगञ्जका प्रमुख गजेन्द्रप्रसाद यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भोला दाहाल प्रमुख अतिथि तथा नेपाल राष्ट्र बैंकका निर्देशक सञ्जीवकुमार झा विशिष्ट अतिथिका रूपमा सहभागी थिए।
कार्यक्रममा निबन्ध लेखन प्रतियोगितामा प्रथम हुने कादम्बरी स्कुलकी खुशी कुमारी गुप्ताले ५ हजार, द्वितीय हुने सोही विद्यालयका उत्सव घिमिरेले ३ हजार र तृतीय हुने गौतम स्कुलका अभिनवकुमार ठाकुरले २ हजार रुपैयाँ नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गरे।
त्यसैगरी, कर प्रशासनमा योगदान पुर्याएको भन्दै कर्मचारी प्रदीप केशरीलाई सम्मान गरिएको थियो।
वीरगञ्ज क्षेत्रमा रहेका करिब १ लाख ८० हजार करदातामध्येबाट उत्कृष्ट कर अनुपालन गर्ने तीन जना करदातालाई छनोट गरी सम्मान गरिएको कार्यालयले जनाएको छ। सम्मानित हुनेमा ओम्नी हायर पर्चेज प्रा.लि.का सञ्चालक सन्दीप मोहता, ओम खाद्य उद्योग प्रा.लि.का सञ्चालक छत्तुलाल प्रसाद तथा गुन्जेश्वरी फार्माका आनन्द चौधरी रहेका छन्।
राष्ट्रिय कर दिवस तथा कर सप्ताहको अवसरमा कार्यालयले रक्तदान, निबन्ध लेखन प्रतियोगिता, प्रभातफेरी तथा करदाता शिक्षा कार्यक्रमलगायत विभिन्न गतिविधि सञ्चालन गरेको थियो। रक्तदान कार्यक्रममा ४२ जनाले रक्तदान गरेका थिए।
करप्रति नागरिकमा सचेतना अभिवृद्धि गर्ने, कर प्रणालीबारे जानकारी गराउने तथा कर प्रशासन र नागरिकबीचको सम्बन्धलाई थप सुमधुर बनाउने उद्देश्यले सप्ताहव्यापी कार्यक्रम आयोजना गरिएको कार्यालयले जनाएको छ।
समापन समारोहमा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम, पूर्वअध्यक्ष गणेश लाठ, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल, सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक मोहनबहादुर क्षेत्री, प्रहरी नायब उपरीक्षक सञ्जीवबाबु खड्का, वीरगञ्ज भन्सार कार्यालयका प्रमुख कृष्णप्रसाद मैनालीलगायत विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख, सञ्चारकर्मी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा करदाताहरूको उपस्थिति रहेको थियो।
कर अधिकृत उद्धव अधिकारीले सञ्चालन गरेको कार्यक्रममा विभिन्न क्षेत्रका करिब १४१ जनाको सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागी वक्ताहरूले मुलुकको आर्थिक समृद्धि, सुशासन र विकास निर्माणमा करको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै नागरिकलाई नियमित रूपमा कर तिर्न प्रोत्साहित गर्नुपर्नेमा जोड दिएका थिए। उनीहरूले कर प्रणालीलाई पारदर्शी, सरल र व्यवस्थित बनाउँदै करदातामैत्री वातावरण निर्माण गर्नुपर्ने धारणा व्यक्त गरेका थिए।