रात्रिकालीन बस व्यवसायीको सुरक्षामा ओम साईराम भलाई कोषको पहल, प्रशासन र ट्राफिक प्रहरीसँग समन्वयमा जोड
आनन्द पटेल
वीरगञ्ज। रात्रिकालीन बस सेवालाई थप व्यवस्थित, सुरक्षित र यात्रुमैत्री बनाउने उद्देश्यले ओम साईराम भलाई कोष एण्ड इन्भेष्टमेन्ट प्रा.लि. तथा जय माता दी यातायात सेवा प्रा.लि.को संयुक्त आयोजनामा व्यवसायी भेला सम्पन्न भएको छ।
शनिबार वीरगञ्ज बसपार्क स्थित होटल सोल्टी गार्डेनमा आयोजित भेलामा रात्रिकालीन बस व्यवसायीहरूले भोग्दै आएका समस्या, यातायात सेवामा सुधार, यात्रुलाई प्रदान गरिने सेवा तथा यात्रुका गुनासो सम्बोधन गर्ने विषयमा विस्तृत छलफल गरिएको थियो। भेलाले व्यवसायी र यात्रुको हितलाई केन्द्रमा राखेर यातायात सेवालाई थप व्यवस्थित बनाउने तथा देखिएका समस्याको समाधानका लागि आवश्यक सुधारका काम अघि बढाउने निर्णय समेत गरेको छ।
भेलामा विशेषगरी सडक दुर्घटनामा परेका बस, यात्रु तथा चालक–सहचालकको तत्काल उद्धार, घाइतेको औषधोपचारमा सहयोग, दुर्घटनाग्रस्त सवारी साधनको मर्मत तथा व्यवसायीबीच उत्पन्न हुने विवाद र समस्याको सहजीकरण गर्ने विषयलाई प्राथमिकतामा राखिएको थियो।
ओम साईराम भलाई कोष एण्ड इन्भेष्टमेन्ट प्रा.लि.का केन्द्रीय उपाध्यक्ष गोपालप्रसाद पौडेलका अनुसार संस्थाले दुर्घटना तथा अन्य समस्यामा परेका व्यवसायी र यात्रुलाई घटनास्थलमै पुगेर सहयोग गर्दै आएको छ। संस्थाले व्यवसायीको मात्रै नभई यात्रुको सुरक्षा, सेवा र हकहितलाई समेत ध्यानमा राखेर काम गरिरहेको उनले बताए।
पौडेलले यातायात व्यवसायीलाई समस्या पर्दा संस्थाले उद्धारदेखि उपचार र सवारी साधन मर्मतसम्म सहजीकरण गर्ने गरेको जानकारी दिँदै संस्थासँग आबद्ध व्यवसायीलाई आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे।
यसैगरी संस्थाका केन्द्रीय सचिव खगेन्द्र अर्यालले मेचीदेखि महाकालीसम्मका करिब ११ हजार बस व्यवसायी संस्थामा आबद्ध रहेको जानकारी दिए। उनका अनुसार देशभर संस्थाका २१ वटा शाखा सञ्चालनमा रहेका छन्। ती शाखा मार्फत व्यवसायीलाई २४ घण्टै सेवा तथा सहयोग उपलब्ध गराउने व्यवस्था गरिएको उनले बताए। उनले देशभरका थप यातायात व्यवसायीलाई पनि संस्थामा आबद्ध हुन आग्रह गरे।
कार्यक्रममा स्थानीय प्रशासन, यातायात व्यवसायी, ट्राफिक प्रहरी तथा सम्बन्धित निकायबीचको सहकार्य र समन्वयले वीरगञ्जमा रात्रिकालीन बस सेवाको विस्तारमा सहयोग पुगेको विषय पनि उठाइएको थियो। पर्साका व्यवसायीहरूले स्थानीय प्रशासन, ट्राफिक प्रहरी तथा यातायातसम्बद्ध निकायले देखाएको सहयोगप्रति आभार व्यक्त गर्दै यस्ता समन्वयात्मक प्रयासले रात्रिकालीन यातायात सेवा व्यवस्थित बनाउन र सडक दुर्घटना न्यूनीकरणमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे।
आयोजकका अनुसार दिवा तथा रात्रिकालीन समयमा सञ्चालन हुने सवारीसाधनको व्यवस्थापन र सञ्चालन समय निर्धारण गर्ने अभ्यास अन्य जिल्लामा समेत क्रमशः विस्तार भइरहेको छ। यसले बस सञ्चालनलाई थप अनुशासित र व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
भेलामा सहभागी व्यवसायीहरूले आफ्ना समस्या, गुनासा तथा यातायात सेवा सञ्चालनका क्रममा भोग्नुपरेका व्यावहारिक कठिनाइहरू राखेका थिए। उनीहरूले व्यवसायीका समस्या समाधानका लागि सम्बन्धित निकायसँग निरन्तर समन्वय गर्नुपर्ने र यात्रुलाई सहज, सुरक्षित तथा भरपर्दो सेवा उपलब्ध गराउन सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा बस व्यवसायी संघका अध्यक्ष विनोद श्रेष्ठ, प्रमुख अतिथि बस व्यवसायी वृजकिशोर प्रसाद कलवार, विशिष्ट अतिथि गोपाल कुमार रञ्जितकार, व्यवसायी गोपाल पौडेल लगायत कृष्णप्रसाद, जगन्नाथ साह, अफताब आलम, प्रह्लाद दाहाल, शम्भु साह, मुनीदेवी, मुकेश गुप्ता, दीपक साह र राजकुमार लगायतको उपस्थिति थियो। कार्यक्रमको सञ्चालन व्यवसायी राजु गुप्ताले गरेका थिए।