सडक दुर्घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली, ट्राफिक सप्ताह सम्पन्न
वीरगञ्ज, असार ९ – जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको आयोजनामा सञ्चालन भइरहेको “ट्राफिक जनचेतनामूलक कार्यक्रम–२०८३” अन्तर्गत सातौँ दिन वीरगञ्जको घण्टाघर चोकमा सडक दुर्घटनामा ज्यान गुमाएका व्यक्तिहरूको सम्झना तथा सम्मानमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरिएको छ।
“ट्राफिक नियमको पालना गरौं, सवारी दुर्घटनाबाट आफू पनि बचौं, अरूलाई पनि बचाऔं” भन्ने मूल नारासहित आयोजित कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रममा नेपाली सेना, सशस्त्र प्रहरी बल, यातायात व्यवस्था कार्यालय नारायणी पर्सा, सामुदायिक प्रहरी सेवा केन्द्र ग्रिनसिटी छप्कैया, 100 ग्रुप्स पर्सा, विभिन्न क्लब तथा संघ–संस्थाका प्रतिनिधि, सवारी चालक, व्यवसायी, प्रहरी कर्मचारी, नगर प्रहरी, पत्रकार तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
दीप प्रज्वलनमार्फत सडक दुर्घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै सहभागीहरूले ट्राफिक नियमको पालना र सडक सुरक्षाप्रति सबै सचेत हुनुपर्नेमा जोड दिएका थिए। दुर्घटना न्यूनीकरणका लागि सरकारी निकाय, सुरक्षा निकाय, चालक तथा सर्वसाधारणबीच सहकार्य आवश्यक रहेको धारणा समेत व्यक्त गरिएको थियो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक दिपेन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ सई अर्जुन सोडारीको विशेष उपस्थिति रहेको थियो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले ट्राफिक जनचेतनामूलक कार्यक्रमअन्तर्गत सडक सुरक्षा, ट्राफिक नियमको जानकारी तथा दुर्घटना न्यूनीकरणसम्बन्धी विभिन्न गतिविधि निरन्तर सञ्चालन भइरहेको जनाएको छ।