बीपीएस प्लस टु कलेजका सञ्चालक दीपक पटेल र सन्दीप कुश्वाहाद्वारा वीरगञ्ज कपडा बैंकलाई माइक तथा कपडा हस्तान्तरण

53

वीरगञ्ज, असार ९ – वीरगञ्ज महानगरपालिका–९, गोश्वारा रोड रानीघाटस्थित बीपीएस प्लस टु कलेजले वीरगञ्ज कपडा बैंकलाई माइक तथा कपडा सहयोग गरेको छ।

कलेज परिसरमा आयोजित एक कार्यक्रममा कलेजका निर्देशकद्वय दीपक पटेल र सन्दीप कुश्वाहाले कपडा बैंकका अध्यक्ष लालबाबु सिंह तथा सदस्य नवराज भट्टराईलाई एक थान माइक र एक झोला कपडा हस्तान्तरण गरेका हुन्। कार्यक्रममा सञ्चारकर्मी आकाश पटेलको पनि सहभागिता रहेको थियो।

“तपाईंसँग बढी छ भने हामीलाई दिनुहोस्, आवश्यकता र कमी छ भने हामीसँग निःशुल्क लिएर जानुहोस्” भन्ने नारासहित विगत सात वर्षदेखि सेवा गर्दै आएको वीरगञ्ज कपडा बैंकलाई सहयोग गर्न पाउँदा खुसी लागेको कलेज प्रशासनले जनाएको छ।

कार्यक्रममा बीपीएस कलेजका एचआर निर्देशक सन्दीप कुश्वाहाले दिनदुःखी, असहाय तथा विपद् प्रभावित व्यक्तिहरूको सेवामा कपडा बैंकले पुर्‍याउँदै आएको योगदान प्रशंसनीय रहेको बताए। उनले कलेजले शैक्षिक तथा व्यक्तिगत विकाससँगै सामाजिक सेवाका क्षेत्रमा पनि निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा समेत कपडा बैंकको अभियानमा साथ दिने प्रतिबद्धता व्यक्त गरे।

कलेजका निर्देशक दीपक पटेलले आफू लामो समयदेखि कपडा बैंकको अभियानसँग जोडिएको बताउँदै प्रत्यक्ष सेवाबाट प्राप्त हुने सन्तुष्टि शब्दमा व्यक्त गर्न नसकिने बताए। उनले केही समयअघि घण्टाघर क्षेत्रमा कपडा वितरणका क्रममा सेवाग्राहीलाई बोलाउन माइकको आवश्यकता महसुस भएपछि सहयोग गर्ने प्रतिबद्धता जनाएको र सोही प्रतिबद्धता अनुसार माइक हस्तान्तरण गरिएको जानकारी दिए। साथै, आगामी दिनमा पनि बैंकको सामाजिक अभियानमा कलेज परिवारको साथ रहने प्रतिबद्धता जनाए।

कपडा बैंकका अध्यक्ष लालबाबु सिंहले विगत सात वर्षदेखि “कोही नाङ्गो नरहोस्” भन्ने उद्देश्यका साथ विभिन्न स्थानमा सेवा प्रवाह गर्दै आएको उल्लेख गरे। उनले बीपीएस कलेजबाट प्राप्त माइक तथा कपडा सहयोगले अभियानलाई थप ऊर्जा र हौसला मिलेको बताउँदै कलेज परिवारप्रति आभार व्यक्त गरे। साथै, मानवताको सेवामा सबैलाई सक्दो सहयोग गर्न आग्रह गर्दै कलेजको उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरे।

Leave A Reply

Your email address will not be published.