शैक्षिक उत्कृष्टतालाई प्रोत्साहन गर्दै प्याब्सन पर्साको टपर्स सम्मान कार्यक्रम

45

वीरगञ्ज । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पर्साले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीहरूलाई सम्मान गरेको छ।

वीरगञ्जस्थित होटल वृन्दावनमा आयोजित “एसईई टपर्स सम्मान कार्यक्रम–२०८३” मा प्याब्सनमा आबद्ध ४० वटा विद्यालयका उत्कृष्ट छात्र–छात्राहरूलाई प्रमाणपत्र सहित सम्मान गरिएको हो।

कार्यक्रमको अध्यक्षता प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरीले गरेका थिए भने वीरगञ्ज महानगरपालिकाका शिक्षा प्रमुख आनन्द लामिछाने प्रमुख अतिथिका रूपमा सहभागी रहेका थिए। कार्यक्रममा प्याब्सन वीरगञ्ज महानगर अध्यक्ष राहुल श्रीवास्तवले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रम सञ्चालन प्याब्सन पर्साका सचिव अशोक संग्रौलाले गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि लामिछानेले वीरगञ्ज महानगरपालिकाले चाँडै नै वीरगञ्जलाई ‘साक्षर महानगर’ घोषणा गर्ने तयारी गरिरहेको जानकारी दिए। उनले शिक्षाको गुणस्तर अभिवृद्धि, विद्यार्थीहरूको शैक्षिक विकास तथा साक्षरता विस्तारका लागि महानगरले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताए। यस्ता सम्मान कार्यक्रमले विद्यार्थीहरूमा थप उत्साह र प्रेरणा प्रदान गर्ने विश्वाससमेत उनले व्यक्त गरे।

त्यसैगरी, क्रियाशील युवा पत्रकार मञ्च नेपालका अध्यक्ष आनन्द पटेलले निजी विद्यालयहरूले नेपालको शैक्षिक क्षेत्रको प्रतिष्ठा जोगाउन तथा गुणस्तरीय शिक्षा प्रदान गर्न महत्वपूर्ण योगदान पुर्‍याएको बताए। उनले एसईई परीक्षामा निजी विद्यालयहरूको उल्लेखनीय सफलता रहेको चर्चा गर्दै शैक्षिक उपलब्धिमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको धारणा राखे।

समाजवादी प्रेस संगठन नेपाल, मधेश प्रदेशका अध्यक्ष मनोज पटेलले सम्मानित विद्यार्थीहरूलाई बधाई दिँदै आफ्नो लगनशीलता, अनुशासन र मेहनतलाई निरन्तरता दिन आग्रह गरे। उनले आगामी शैक्षिक यात्रामा अझ बढी मेहनतका साथ अध्ययन गर्न सुझाव दिँदै देशका सक्षम नागरिकका रूपमा स्थापित हुन शुभकामना व्यक्त गरे।

कार्यक्रममा प्याब्सन पर्साकी वरिष्ठ महिला उपाध्यक्ष सुशीला साह, अल्पाइन स्कुलका विनोद साहलगायत विभिन्न विद्यालयका सञ्चालक, प्रधानाध्यापक, शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्याब्सन पर्साले शैक्षिक उत्कृष्टतालाई प्रोत्साहन गर्ने उद्देश्यले प्रत्येक वर्ष यस्ता कार्यक्रम आयोजना गर्दै आएको जनाएको छ। कार्यक्रममा सम्मानित विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दै निरन्तर उत्कृष्टता हासिल गर्न प्रेरित गरिएको थियो।

कार्यक्रमको सहजीकरण प्याब्सन महानगर सचिव अमित आलोकले गरेका थिए । सो अवसरमा शर्मानन्द कुशवाहा, प्रकाश उपाध्यायलगायत शिक्षा क्षेत्रसँग सम्बन्धित व्यक्तित्व, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

 

Leave A Reply

Your email address will not be published.