१२ कठ्ठा जग्गादानदेखि भवन निर्माणसम्म : जगरनाथपुरमा रमेश रिजालले गरे प्रशासनिक भवन उद्घाटन

40

वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवनको बुधबार उद्घाटन गरिएको छ। गाउँपालिकाको वडा नम्बर ४ मा निर्माण सम्पन्न भएको भवनको पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश रिजालले एक समारोहबीच उद्घाटन गरेका हुन्।

भवन निर्माणका लागि पूर्वमन्त्री रिजालले १२ कठ्ठा जग्गा दान गरेका थिए। उनले गाउँपालिकालाई उपलब्ध गराएको उक्त जग्गा २०८१ फागुन १ गतेको निर्णयअनुसार गाउँपालिकाको नाममा कायम भएपछि भवन निर्माण प्रक्रिया अघि बढाइएको थियो।

गाउँपालिकाको २ करोड ३५ लाख रुपैयाँ, जिल्ला समन्वय समितिको ३५ लाख रुपैयाँ तथा प्रदेशसभा सदस्य जनार्दन सिंह क्षेत्रीको संसदीय विकास कोषबाट प्राप्त ६४ लाख रुपैयाँ गरी कुल ३ करोड ३४ लाख रुपैयाँको लागतमा भवन निर्माण सम्पन्न भएको हो।

भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष श्रीकान्तप्रसाद यादवले यसअघि भाडाको भवनबाट सञ्चालन हुँदै आएको गाउँपालिकाको प्रशासनिक सेवा अब आफ्नै भवनबाट सञ्चालन हुने बताए। १२ कोठे प्रशासनिक भवन निर्माण सम्पन्न भएसँगै सेवाग्राहीलाई सेवा प्रवाह गर्न सहज हुने उनको भनाइ थियो।

अध्यक्ष यादवले आफ्नै कार्यकालमा गाउँपालिकाको प्रशासनिक भवन निर्माण गर्ने प्रतिबद्धता पूरा गर्न सफल भएको उल्लेख गर्दै शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रको विकासका लागि समेत विभिन्न काम गरिएको बताए।

गाउँपालिका अध्यक्ष यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्वमन्त्री एवं प्रदेशसभा सदस्य जनार्दन सिंह क्षेत्री, वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलम, पटेर्वासुगौली गाउँपालिकाका अध्यक्ष दिनेश चौधरी, उपाध्यक्ष ममता महतो, जिराभवानी गाउँपालिकाकी उपाध्यक्ष रेखा चौधरी, जगरनाथपुर गाउँपालिकाकी उपाध्यक्ष बबिता सिंह क्षेत्री, प्रमुख प्रशासकीय अधिकृत सुनिल केशरी, पूर्वप्रदेशसभा सदस्य प्रहलाद गिरी तथा नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मीलगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन शिक्षक रुपनारायण साहले गरेका थिए।

Leave A Reply

Your email address will not be published.