आन्तरिक विवाद टुंगिएपछि पकाहाँमैनपुरको गाउँसभा सम्पन्न, ३६ करोड ३० लाखको बजेट प्रस्तुत
पर्सा असोज २२ ।
आन्तरिक विवादका कारण लामो समयदेखि हुन नसकेको पर्साको पकाहाँमैनपुर गाउँपालिकाको गाउँसभा अन्ततः आपसी समझदारी, संवाद र समन्वय मार्फत सम्पन्न भएको छ।
नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत सुमित कुमार सिंहले पदभार ग्रहण गरेको करिब एक सातामै जनप्रतिनिधि तथा कर्मचारीबीच आवश्यक समन्वय र सहकार्यको वातावरण निर्माण गर्दै रोकिएको गाउँसभा सञ्चालन गर्न सफल भएका हुन्।
गाउँसभामा आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ३६ करोड ३० लाख २७ हजार रुपैयाँको बजेट प्रस्तुत गरिएको छ। कुल बजेट मध्ये चालुतर्फ २४ करोड ३५ लाख ८२ हजार रुपैयाँ र पुँजीगततर्फ ११ करोड ९४ लाख ४५ हजार रुपैयाँ विनियोजन गरिएको छ।
गाउँसभा सम्पन्न भएसँगै गाउँपालिकामा लामो समयदेखि देखिएको आन्तरिक असमझदारी अन्त्य हुनुका साथै विकास निर्माण, सेवा प्रवाह तथा स्वीकृत योजना र बजेट कार्यान्वयनको बाटो खुलेको छ।
गाउँपालिकाका अध्यक्ष सुरेश मेहताले पालिकाको समग्र विकासका लागि जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवाला सबै पक्षबीच निरन्तर सहकार्य आवश्यक रहेको बताउनुभयो।
उहाँले आपसी मतभेद भन्दा माथि उठेर गाउँपालिकाको हितलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै संवाद र समन्वयमार्फत अघि बढ्दा मात्रै नागरिकले अपेक्षा गरेको विकास र प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्न सकिने बताउनुभयो।
“गाउँसभा सम्पन्न हुनु सकारात्मक सुरुवात हो। अब सबै पक्ष मिलेर गाउँपालिकाको विकास र नागरिकको सेवामा केन्द्रित हुनुपर्छ,” अध्यक्ष मेहताले भन्नुभयो।
त्यस्तै, प्रमुख प्रशासकीय अधिकृत सुमित कुमार सिंहले पदभार ग्रहण गरेलगत्तै प्रशासनिक कामलाई नियमित, व्यवस्थित र प्रभावकारी बनाउन आफूले प्राथमिकता दिएको बताउनुभयो।
जनप्रतिनिधि र कर्मचारीबीच समन्वय तथा सहकार्य भए जस्तोसुकै समस्या पनि समाधान गर्न सकिने उल्लेख गर्दै उहाँले गाउँसभा सम्पन्न हुनु सबै पक्षको साझा प्रयासको परिणाम भएको बताउनुभयो।
“अब स्वीकृत नीति, कार्यक्रम र बजेटलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै नागरिकलाई गुणस्तरीय सेवा प्रदान गर्नु नै हाम्रो मुख्य प्राथमिकता हुनेछ,” अधिकृत सिंहले भन्नुभयो।
अधिकृत सिंहले गाउँपालिकाको प्रशासनिक कामलाई चुस्त बनाउँदै विकास निर्माणमा पारदर्शिता, जवाफदेहिता र गुणस्तर कायम गर्न जनप्रतिनिधि तथा कर्मचारीबीच निरन्तर समन्वय आवश्यक रहेको बताउनुभयो।
यसअघि पदभार ग्रहणकै क्रममा उहाँले लामो समयदेखि रोकिएको गाउँसभा सम्पन्न गराउन आवश्यक पहल र समन्वय गर्ने प्रतिबद्धता जनाउनुभएको थियो। सोहीअनुसार जनप्रतिनिधि, कर्मचारी तथा सम्बन्धित पक्षबीच समन्वय गरी गाउँसभा सम्पन्न गर्न सफल भएको गाउँपालिकाले जनाएको छ।
गाउँसभा सम्पन्न भएसँगै अब आर्थिक वर्षका स्वीकृत योजना तथा कार्यक्रमलाई तीव्र रूपमा कार्यान्वयनमा लैजाने र नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने विकास गतिविधिलाई प्राथमिकताका साथ अघि बढाउने गाउँपालिकाले जनाएको छ।