मुख्यमन्त्री कृष्ण प्रसाद यादवको उपस्थितिमा भारतको महावाणिज्य दूतावासले मनायो अन्तर्राष्ट्रिय योग दिवस

7

वीरगञ्ज, असार ७ – भारतको महावाणिज्य दूतावास, वीरगञ्जले प्रतिष्ठित शंकराचार्य गेटमा १२औँ अन्तर्राष्ट्रिय योग दिवस भव्य रूपमा मनाएको छ। भारत र नेपालबीचको गहिरो सांस्कृतिक तथा आध्यात्मिक सम्बन्धको प्रतीक मानिने उक्त स्थलमा आयोजित कार्यक्रममा ठूलो संख्यामा योगप्रेमीहरूको सहभागिता रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादव रहेका थिए। त्यसैगरी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम प्रसाद पटेल तथा वन तथा वातावरण मन्त्री शंकर प्रसाद चौधरी विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए।

सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव, विभिन्न उद्योग वाणिज्य संघका प्रतिनिधि, नेपाल–भारत मैत्री संघ (निफा), पतञ्जलि योग समिति (पर्सा र बारा), प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखलगायत स्थानीय सरकारी अधिकारी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको मुख्य आकर्षण योग विद्यार्थीहरूद्वारा प्रस्तुत उन्नत योग आसनहरूको प्रदर्शन रह्यो। प्रदर्शनमार्फत योगमा निहित अनुशासन, लचकता र सौन्दर्यलाई प्रस्तुत गरिएको थियो, जसको सहभागी तथा अतिथिहरूले उच्च प्रशंसा गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै भारतका महावाणिज्य दूतले योगलाई भारतले विश्वलाई दिएको अमूल्य उपहारको रूपमा उल्लेख गर्दै यसले शारीरिक स्वास्थ्य, मानसिक सन्तुलन र सामाजिक सद्भाव प्रवर्द्धन गर्ने बताए। उनले योगले सीमा र भूगोलभन्दा माथि उठेर नेपाल–भारत मित्रतालाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरे।

मुख्यमन्त्री कृष्ण प्रसाद यादवले अन्तर्राष्ट्रिय योग दिवस २०२६ अघि निरन्तर रूपमा योगसम्बन्धी कार्यक्रम आयोजना गरेकोमा भारतको महावाणिज्य दूतावास, वीरगञ्जको प्रशंसा गरे। उनले यस्ता कार्यक्रमले जनस्वास्थ्यप्रति चेतना अभिवृद्धि गर्नुका साथै नेपाल र भारतबीचको सांस्कृतिक तथा जनस्तरको सम्बन्धलाई थप मजबुत बनाएको बताए।

मध्यरातिको वर्षाका बाबजुद पनि बिहानैदेखि ठूलो संख्यामा योगप्रेमीहरू स्वास्थ्य, सद्भाव र समग्र कल्याणको सन्देश प्रवाह गर्न कार्यक्रममा सहभागी भएका थिए। कार्यक्रममा योगले सीमा पारको एकता, सहिष्णुता र दिगो जीवनशैलीलाई प्रवर्द्धन गर्ने सशक्त माध्यमका रूपमा आफ्नो महत्व पुनः स्थापित गरेको बताइएको थियो।

भारतको महावाणिज्य दूतावास, वीरगञ्जले अन्तर्राष्ट्रिय योग दिवस २०२६ को अवसरमा विभिन्न योग कार्यक्रमहरू आयोजना गर्दै आएको थियो। योगका फाइदाबारे जनचेतना अभिवृद्धि तथा नेपाल–भारत मित्रता थप सुदृढ बनाउने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रमहरूको श्रृंखला शंकराचार्य गेटमा आयोजित मुख्य समारोहसँगै सम्पन्न भएको दूतावासले जनाएको छ।

Leave A Reply

Your email address will not be published.