वीरगञ्जमा नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, शान्ति सुरक्षा र लागुऔषध नियन्त्रणमा जोड

42

वीरगञ्ज, असार ३१ आनन्द पटेल — जिल्ला प्रहरी कार्यालय पर्सा र सामुदायिक प्रहरी सेवा केन्द्र मुर्लीको संयुक्त आयोजनामा समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत वीरगञ्ज महानगरपालिका–१५ स्थित हर्ष पार्टी प्यालेसमा नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदीप राज पाठकले स्थानीय स्तरको शान्ति सुरक्षा, अमनचयन, जनगुनासो सम्बोधन, लागुऔषध ओसारपसार नियन्त्रण, घरेलु मदिरा उत्पादन रोकथाम तथा मनसुनजन्य बाढी–डुबानबाट बच्ने उपाय र क्षति न्यूनीकरणका विषयमा सहभागीहरूलाई जानकारी गराएका थिए।

कार्यक्रममा वडा प्रहरी कार्यालय श्रीपुर पर्साका प्रमुख नवीन थापा मगर, वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम , ग्रिनसिटी सामुदायिकका अध्यक्ष राम सराफ, वीरगञ्ज महानगरपालिका वडा नं. १५ र १६ का वडाध्यक्ष, स्थानीय भद्रभलादमी, महिला, पुरुष, ज्येष्ठ नागरिक तथा जनप्रतिनिधिसहित करिब १०० जनाको सहभागिता रहेको थियो।

सहभागीहरूले स्थानीय शान्ति सुरक्षा, अपराध नियन्त्रण, लागुऔषधको बढ्दो समस्या तथा समुदाय–प्रहरी सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा आफ्ना जिज्ञासा र सुझाव राखेका थिए। प्रहरी प्रमुख पाठकले उठेका गुनासाहरूलाई सम्बोधन गर्दै समुदायको सक्रिय सहयोगबाट मात्रै सुरक्षित समाज निर्माण सम्भव हुने बताएका थिए।

समुदाय र प्रहरीबीचको समन्वय तथा विश्वास अभिवृद्धि गर्ने उद्देश्यले आयोजित नागरिक सुनुवाइ कार्यक्रम करिब डेढ घण्टासम्म सञ्चालन भई सम्पन्न भएको थियो।

Leave A Reply

Your email address will not be published.