साँचो प्रेम र निष्कपट श्रद्धाले मात्र भगवान् प्राप्त हुन्छन् : बिमल सर्राफ

63

रक्सौल (पूर्वी चम्पारण), असार २७ समाजसेवी तथा भारत विकास परिषद्, रक्सौलका सेवा संयोजक एवं मिडिया प्रभारी बिमल सर्राफले भगवान् सर्वव्यापी भए पनि उहाँ साँचो प्रेम, निष्कपट श्रद्धा र स्वच्छ हृदय भएका व्यक्तिको जीवनमा मात्र प्रकट हुने बताएका छन्।

लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२२ ई का जोनल चेयरपर्सन तथा डिस्ट्रिक्ट चेयरपर्सनसमेत रहेका सर्राफले सञ्चारकर्मीसँग कुरा गर्दै मनमा कपट राखेर कसैको हितैषी बन्न खोजे नियतिले ढिलोचाँडो त्यसको वास्तविकता उजागर गर्ने बताए। उनले सुख–दुःख दुवै अवस्थामा एकअर्कासँग खुलेर भावना साट्न सकिने सम्बन्ध नै दिगो र अर्थपूर्ण हुने उल्लेख गरे।

उनका अनुसार सम्बन्धको मूल्य कुनै तराजुले मापन गर्न सकिँदैन। सम्बन्धको वास्तविक मूल्य माया, अपनत्व, विश्वास र परवाहबाट झल्किने बताउँदै उनले जीवनमा कुनै पनि अवस्था स्थायी नहुने भएकाले कठिन परिस्थितिमा पनि धैर्य र सकारात्मक सोच कायम राख्नुपर्ने धारणा व्यक्त गरे।

सर्राफले परमात्माले सबै मानिसलाई एउटै माटोबाट सिर्जना गरेको उल्लेख गर्दै बाहिरी सौन्दर्यभन्दा विचार, व्यवहार र चरित्रको सौन्दर्य बढी महत्त्वपूर्ण हुने बताए। पछिल्लो समय मानिसहरू व्यवहारिकभन्दा बढी व्यावसायिक बन्दै गएकाले धेरै सम्बन्ध लाभ–हानिको आधारमा अघि बढ्न थालेको उनको भनाइ थियो।

उनले जीवनमा गल्ती हुनु स्वाभाविक भए पनि नियत भने कहिल्यै गलत हुन नहुने भन्दै निःस्वार्थ प्रेम, विश्वास, सम्मान र असल चरित्रले मात्र समाजमा स्थायी पहिचान दिलाउने बताए।

Leave A Reply

Your email address will not be published.