विद्या सदनको आयोजनामा अन्तरविद्यालय कला महोत्सव सम्पन्न, GHP सेकेन्डरी स्कुल सर्वाधिक सफल

46

वीरगञ्ज, साउन १० — गुरुपूर्णिमाको अवसरमा विद्या सदन सेकेन्डरी स्कुल, मुर्ली, वीरगञ्ज–१२ को आयोजनामा ‘अन्तरविद्यालय कला महोत्सव–२०८३’ भव्य रूपमा सम्पन्न भएको छ। वीरगञ्जका १० प्रतिष्ठित विद्यालयको सहभागिता रहेको महोत्सवमा विद्यार्थी, शिक्षक तथा विभिन्न विद्यालयका प्रधानाध्यापकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

विद्यार्थीहरूमा रहेको सिर्जनशील प्रतिभाको पहिचान र प्रोत्साहन गर्दै विद्यालयहरूबीच आपसी सहकार्य र सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवमा विभिन्न पाँच समूहमा चित्रकला प्रतियोगिता सम्पन्न गरिएको थियो।

कार्यक्रमका लागि प्रमुख अतिथिका रूपमा नेपाल कमर्सियल आर्टिस्ट संघ पर्साका अध्यक्ष मनीष श्रेष्ठलाई निमन्त्रणा गरिएको भए पनि आफ्नी आमाको स्वास्थ्य उपचारका कारण उहाँ कार्यक्रममा उपस्थित हुन नसकेको विद्यालयले जनाएको छ। प्रमुख अतिथिको अनुपस्थितिमा हिन्दू परम्पराअनुसार पाँच जना बालिकाबाट दीप प्रज्वलन गरी महोत्सवको उद्घाटन गरिएको थियो।

प्रतियोगिताका निर्णायक तथा आइडियल एकेडेमीका प्रधानाध्यापक विकास राईले सहभागी बालबालिकाले प्रस्तुत गरेका कलाकृतिको प्रशंसा गर्दै कला शिक्षाले बालबालिकाको सिर्जनशील क्षमता विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए। विद्यालयले उहाँलाई सम्मानस्वरूप ‘टोकन अफ लभ’ प्रदान गरेको थियो।

प्रतियोगितामा समूह ‘क’ (नर्सरी) मा GHP सेकेन्डरी स्कुलकी बिनिता चौरसिया प्रथम, न्यू वेभ सेकेन्डरी स्कुलकी आकृति कुमारी द्वितीय र मिनी ल्याण्ड इंग्लिस सेकेन्डरी स्कुलकी अनुराधा कुशवाहा तृतीय भइन्।

समूह ‘ख’ (एलकेजी) मा GHP सेकेन्डरी स्कुलकी अन्जुला राम प्रथम, विद्या सदनकी सोनिया मण्डल द्वितीय तथा साइमा खातुन तृतीय भइन्।

समूह ‘ग’ (यूकेजी) मा GHP सेकेन्डरी स्कुलका सुन्दरम कलवार प्रथम, विद्या सदनका आहान अली द्वितीय तथा अनाया अली तृतीय भए।

समूह ‘घ’ (कक्षा १–२) मा GHP सेकेन्डरी स्कुलका अमन कुमार साह प्रथम, विद्या सदनकी शिवानी महतो द्वितीय तथा GHP की साक्षी गुप्ता तृतीय भइन्।

समूह ‘ङ’ (कक्षा ३–५) मा मनकामना सेकेन्डरी स्कुलकी आरुषी कुमारी प्रजापति प्रथम, GHP सेकेन्डरी स्कुलकी आरती सिंह द्वितीय तथा न्यू वेभ सेकेन्डरी स्कुलकी नैना कुमारी तृतीय भइन्।

विजेता विद्यार्थीहरूलाई शिल्ड, पदक तथा प्रमाणपत्र प्रदान गरिएको थियो भने प्रतियोगितामा सहभागी सबै विद्यार्थीलाई सान्त्वना पुरस्कार प्रदान गरिएको विद्यालयले जनाएको छ।

कार्यक्रमको स्वागत मन्तव्य कक्षा १० का विद्यार्थी आयान अन्सारीले गरेका थिए भने सञ्चालन कक्षा ८ की छात्रा अफ्रिन खातुनले गरेकी थिइन्। विद्यालयका प्रधानाध्यापक लालबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उनले प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्दै यस्ता कार्यक्रमले बालबालिकाको प्रतिभा उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए।

गुरुपूर्णिमाको अवसरमा सम्पन्न अन्तरविद्यालय कला महोत्सव–२०८३ ले वीरगञ्जका विद्यालयबीच शैक्षिक तथा सांस्कृतिक सहकार्यलाई थप सुदृढ बनाउनुका साथै बालबालिकामा कला शिक्षाप्रतिको रुचि र सिर्जनशीलताको विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको सहभागीहरूले बताएका छन्।

Leave A Reply

Your email address will not be published.