हैजाको जोखिम बढेपछि मधेश सरकारको आपत्कालीन स्वास्थ्य टोली वीरगन्जमा
वीरगन्ज । वीरगन्जमा हैजाको संक्रमण फैलिएपछि त्यसको रोकथाम तथा उपचारका लागि मधेश प्रदेश सरकारले स्वास्थ्यकर्मीहरूको विशेष टोली वीरगन्ज पठाएको छ।
मधेश प्रदेश सरकारले यसलाई गम्भीरता पूर्वक लिँदै कार्यवाहक मुख्यमन्त्री तथा भौतिक पूर्वाधार मन्त्री सरोज कुमार यादवले तत्काल आवश्यक उपचार सेवा उपलब्ध गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएका थिए। सोही निर्देशनअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन प्रसाद सिंहले मन्त्रालयका महाशाखा प्रमुख डा. विपिनकुमार झा र जनस्वास्थ्य अधिकृत सन्तोषकुमार ठाकुरलाई वीरगन्ज खटाएका हुन्।
पछिल्ला केही दिनदेखि वीरगन्ज महानगरपालिकाको वडा नम्बर १२, मुर्लीको नयाँ टोलमा झाडापखालाका बिरामीहरूको संख्या बढ्दै गएको थियो। वीरगन्ज स्थित तराई हस्पिटलमा एकै पटक ठूलो संख्यामा बिरामी भर्ना भएपछि अस्पतालले हैजाको आशंका गरी महानगरलाई खबर गरेको थियो। त्यसपछि नारायणी अस्पताल र जिल्ला जनस्वास्थ्य कार्यालयसँगको समन्वयमा गरिएको परीक्षणमा तीन जनामा हैजाको जीवाणु ‘भिब्रियो कोलेरा’ पुष्टि भएको थियो। संक्रमितमध्ये एक बालकको अवस्था गम्भीर रहेको छ।
संक्रमण पुष्टि भएलगत्तै महानगरपालिकाले तत्कालै रोकथामका उपायहरू अपनाएको छ। अर्को सूचना जारी नभएसम्म भाजा, चटपटे र पानीपुरी लगायतका ‘स्ट्रिट फुड’को बिक्रीमा रोक लगाइएको छ। साथै, हैजाबाट बच्ने उपायबारे जनचेतना फैलाउन घर–घरमा स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ।
प्रदेश सरकारको टोलीले स्थानीय स्वास्थ्य निकायहरूसँग समन्वय गरी रोगको प्रकोप नियन्त्रण गर्न र संक्रमितहरूलाई उचित उपचार दिलाउन काम गर्नेछ।