“हाम्रो संगठन कुनै जाति वा समुदाय विरुद्ध होइन, ओझेलमा परेका मठ–मन्दिर र संस्कृतिको उत्थानका लागि हो” : अध्यक्ष रौनियार

76

वीरगन्ज।

हिन्दू पत्रकार संघ, नेपालका नवगठित केन्द्रीय पदाधिकारी तथा सदस्यहरूलाई आइतबार वीरगन्जमा सम्मान गरिएको छ। विश्व हिन्दू परिषद् नेपाल, वीरगन्ज महानगर कार्यसमितिको आयोजनामा वीरगन्जस्थित रानीसती धर्मशालामा सम्मान कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा हिन्दू धर्म, संस्कृति तथा राष्ट्रियताको संरक्षणमा सञ्चार माध्यमको भूमिका र जिम्मेवारीबारे गम्भीर छलफल गरिएको थियो। वक्ताहरूले समाजमा सकारात्मक चेतना फैलाउन मूल्य–आधारित, तथ्यपरक र जिम्मेवार पत्रकारिता अपरिहार्य रहेको धारणा व्यक्त गरे।

 

कार्यक्रमका विशिष्ट अतिथि तथा विश्व हिन्दू परिषद् मधेस प्रदेशका उपाध्यक्ष सुनिल खेतानले सम्मानित पत्रकारहरूलाई टीका र गमछा ओढाएर सम्मान गर्नुभएको थियो। सो अवसरमा उहाँले पत्रकारितामार्फत सामाजिक सद्भाव, चेतना र नैतिक मूल्य प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभयो।

प्रमुख अतिथिका रूपमा बोल्दै हिन्दू पत्रकार संघ, नेपालका केन्द्रीय अध्यक्ष राजन रौनियारले संघको स्थापना कुनै व्यक्ति, जात वा समुदायको विरोधका लागि नभई हिन्दू धर्मसँग जोडिएको धार्मिक, सांस्कृतिक तथा राष्ट्रिय पहिचानको संरक्षण र प्रवर्द्धनका लागि गरिएको स्पष्ट पार्नुभयो। उहाँले ऐतिहासिक मठ–मन्दिर, धार्मिक पर्यटकीय स्थल तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रचारमा संघले सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

नगर अध्यक्ष ज्योति रुंगटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दीप प्रज्वलन गरी सनातन पद्धतिको सम्मान गरिएको थियो। कार्यक्रममा वीरगन्जका उद्योगी, नागरिक समाजका अगुवा, महिला सञ्चारकर्मी तथा युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

साथै विश्व हिन्दू परिषद् वीरगन्ज महानगर समितिले संगठनलाई थप सुदृढ बनाउन केही नयाँ जिम्मेवारीहरू समेत तोकेको छ। जसअन्तर्गत सह-सचिवमा सुभाष साह, दुर्गा वाहिनी संयोजिकामा वन्दना शर्मा, गौरक्षा प्रमुखमा यश सर्राफ, सेवा प्रमुखमा अनुज गुप्ता, धार्मिक पुँजी प्रमुखमा आकाश र मिडिया प्रमुखमा चन्दन प्रजापतिलाई चयन गरिएको छ। नवनियुक्त दायित्वधारीहरूलाई संगठनको लक्ष्य अनुरूप कार्य गर्न निर्देशित गरिएको छ।

Leave A Reply

Your email address will not be published.