जसपा नेपाल पर्साका अधिकांश नेता एमालेमा समाहित, प्रदीप यादव पर्सा–१ बाट उम्मेदवार सिफारिस

39

वीरगञ्ज, माघ ५ — जनता समाजवादी पार्टी (जसपा) नेपाल पर्साका अधिकांश नेता तथा बहुमत सदस्यहरू नेकपा (एमाले) मा समाहित भएका छन्। माघ ५ गते मध्यराति गुन्डुमा आयोजित विशेष कार्यक्रममा पूर्व खानेपानी मन्त्री तथा पर्सा–१ का प्रतिनिधिसभा सदस्य प्रदीप यादव, जसपा नेपालका महासचिव इस्तियाक राइन, वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, पूर्व प्रदेशसभा सदस्य जनन्त अन्सारीसहित आधा दर्जनभन्दा बढी वडा अध्यक्ष तथा पर्सा जिल्लाका अधिकांश जसपा नेताहरूले एमाले प्रवेश गरेका हुन्।

नवप्रवेशी नेताहरूलाई नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गर्दै संगठन सुदृढीकरण र जनसेवामा एकताबद्ध भएर अघि बढ्न आग्रह गर्नुभयो। उहाँले मधेस प्रदेश तथा पर्सा जिल्लामा एमालेको जनआधार अझ मजबुत हुने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा नेकपा (एमाले) का सचिव महेश बस्नेत, केन्द्रीय सदस्य तथा वीरगञ्जका पूर्व मेयर विजय सरावगी, प्रभु हजारा, मधेस प्रदेशका उपाध्यक्ष बिचारी यादव, युवा नेता पिन्टु उपाध्याय तथा लियाकत अलीलगायत नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

एमाले प्रवेशसँगै प्रदीप यादवलाई पर्सा निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारका रूपमा सिफारिस गरिएको छ। यादव सोही निर्वाचन क्षेत्रबाट लगातार दुई पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइसकेका छन्।

Leave A Reply

Your email address will not be published.