नेतृत्व परिवर्तन आवश्यक छ भन्दै जनमत पार्टीबाट ओमप्रकाश सर्राफको पर्सा–१ बाट उम्मेदवारी

40

वीरगञ्ज, ०६ माघ | आनन्द पटेल

आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पर्सा निर्वाचन क्षेत्र नम्बर–१ बाट डा. सिके राउत नेतृत्वको जनमत पार्टीका जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफले उम्मेदवारी दर्ता गराएका छन्।

जनमत पार्टीका केन्द्रीय सदस्यसमेत रहेका सर्राफले जिल्ला समन्वय समिति पर्साको कार्यालयमा स्थापना गरिएको पर्सा–१ का निर्वाचन अधिकृतको कार्यालयमा पुगेर प्रतिनिधिसभा सदस्य पदका लागि मनोनयन दर्ता गराएका हुन्।

मनोनयन दर्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सर्राफले देशमा अब नेतृत्व परिवर्तन अपरिहार्य भइसकेको बताए। युवाहरू नयाँ र वैकल्पिक नेतृत्वको खोजीमा रहेको उल्लेख गर्दै उनले यही जनअपेक्षालाई सम्बोधन गर्न आफू उम्मेदवार बनेको स्पष्ट पारे। उनका अनुसार जनताले अब पुरानै शैलीको राजनीतिभन्दा फरक विकल्प चाहिरहेका छन्।

सर्राफले पर्सा–१ बाट यस अघि पटक–पटक निर्वाचित सांसदहरूले वीरगञ्जको समग्र विकासमा उल्लेखनीय योगदान दिन नसकेको आरोप लगाए। वीरगञ्जको ऐतिहासिक तथा आर्थिक महत्व हुँदाहुँदै पनि यस क्षेत्रको गौरव जोगाउन र स्थानीय समस्या समाधान गर्न निर्वाचित प्रतिनिधिहरू असफल भएको उनको दाबी छ।

“वीरगञ्जको वास्तविक आवाज संसद्मा प्रभावकारी रूपमा उठ्न सकेन,” सर्राफले भने, “खोसिएको गौरव फर्काउन र यहाँका जनताको समस्या राष्ट्रिय तहमा पुर्‍याउन मैले उम्मेदवारी दिएको हुँ।”

उनले यसअघि निर्वाचित सांसदहरूले नारायणी अस्पताल, ठाकुरराम बहुमुखी क्याम्पस र नारायणी रङ्गशालाजस्ता महत्वपूर्ण संस्थाहरूको स्तरोन्नतिमा आवश्यक चासो नदेखाएको आरोप लगाए।

त्यस्तै, वीरगञ्जको ‘लाइफलाइन’का रूपमा चिनिने सिर्सिया नदीको सरसफाइ र प्रदूषण नियन्त्रणमा पनि विगतका जनप्रतिनिधिहरूले कुनै ठोस पहल नगरेको उनले बताए।

सर्राफले आफू निर्वाचित भएमा शिक्षा, स्वास्थ्य, खेलकुद र वातावरण संरक्षणलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै वीरगञ्ज तथा पर्सा जिल्लाको समग्र विकासका लागि निरन्तर संघर्ष गर्ने जनाए।

Leave A Reply

Your email address will not be published.