प्रतिनिधिसभा निर्वाचन प्रचारप्रसार अवधि फागुन ४ देखि १८ गतेसम्म तोकियो

56

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि फागुन ४ गतेदेखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसारको अवधि तोकेको छ । आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले तोकिएको अवधिभित्र निर्वाचन आचारसंहिता पालना गर्दै प्रचारप्रसार गर्न राजनीतिक दल र उम्मेदवारलाई आग्रह गरेका छन् ।

मंगलबार आयोगमा आयोजित पत्रकार सम्मेलनमा भण्डारीले मनोनयनपत्र दाखिल गरेपछि प्रचार गर्न नपाइने भन्ने भ्रम रहेको उल्लेख गर्दै निर्वाचन चिह्न प्राप्त भएपछि घरदैलो कार्यक्रममार्फत मतदातासँग भेटघाट गर्न र रायसुझाव लिन पाइने स्पष्ट पारे । तर, ठूला आमसभा, गोष्ठी, सेमिनारजस्ता गतिविधि दलगत रूपमा गर्न नपाइने उनले जानकारी दिए ।

उनले निर्वाचन आचारसंहिता लागू भइसकेको स्मरण गराउँदै उल्लंघनसम्बन्धी उजुरी परेमा आयोगले छानबिन गरी आवश्यक निर्णय लिने अधिकार राख्ने बताए ।

कार्यवाहक प्रमुख आयुक्त भण्डारीले प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका प्रदेशसभा तथा स्थानीय तहका जनप्रतिनिधिको पद रिक्त हुने स्पष्ट गर्दै ती रिक्त स्थानमा फागुन २१ गतेपछि निर्वाचन गरिने जानकारी पनि दिए ।

निर्वाचन आयोगले निष्पक्ष, स्वच्छ र मर्यादित निर्वाचन सुनिश्चित गर्न सबै पक्षको जिम्मेवार भूमिका अपरिहार्य रहेको जनाएको छ ।

Leave A Reply

Your email address will not be published.