पूर्व मुख्यमन्त्री जितेन्द्र सोनल–सञ्जु साहको मजबुत जोडी, बारा क्षेत्र नं ४ मा जसपा नेपालको जित निश्चित
माघ ९, बारा — आनन्द पटेल
जनता समाजवादी पार्टी (जसपा) नेपाल बारा निर्वाचन क्षेत्र नं ४ को अगुवा कार्यकर्ता बैठक आज सम्पन्न भएको छ। गण्डकस्थित मधेस भवनमा सम्पन्न बैठकमा पार्टीका वरिष्ट नेता तथा मधेस प्रदेशका पूर्व मुख्यमन्त्री जितेन्द्र सोनलले सभालाई सम्बोधन गर्दै प्रतिनिधिसभा निर्वाचनमा बारा क्षेत्र नं ४ लगायत सम्पूर्ण मधेसमा जसपा नेपालको जित सुनिश्चित रहेको दाबी गर्नुभयो।

सभालाई सम्बोधन गर्दै सोनलले बारा क्षेत्र मधेसको पहिचान बोकेको क्षेत्र भएको उल्लेख गर्दै कुनै पनि हालतमा बाहिरी बहरुपिया नेताहरूलाई यहाँका जनताले भोट नदिने स्पष्ट धारणा व्यक्त गर्नुभयो। उहाँले लोसपा र जसपा नेपाल सधैं मधेसको हक–अधिकार, पहिचान र सम्मानका लागि संघर्षरत रहेको र यही लक्ष्यका साथ यो निर्वाचनमा एकढिक्का भएर अघि बढेको बताउनुभयो। साथै उहाँले नेता–कार्यकर्तालाई जोशका साथ मैदानमा उत्रिन निर्देशन दिनुभयो।

यो निर्वाचन मधेसीहरूको मान–सम्मान र प्रतिष्ठाको लडाइँ भएको उल्लेख गर्दै सोनलले बारा क्षेत्र नं ४ बाट जसपा नेपालका उम्मेदवार सञ्जु साहलाई भारी बहुमतले विजयी गराउन सबैलाई आह्वान गर्नुभयो।
कार्यक्रममा पार्टीका वरिष्ट नेता तथा अधिवक्ता रामचन्द्र सिंहले मधेसका मुद्दा बचाउन र बाहिरी स्वार्थी नेताहरूको जालबाट मधेसलाई मुक्त गर्न सञ्जु साहको विजय अनिवार्य रहेको बताए। उनले मधेसमा आएर बाहिरका नेताहरूले आफ्नो स्वार्थ पूरा गर्ने परिपाटीलाई जरैदेखि उखालेर फाल्ने समय आएको उल्लेख गरे।
बैठकमा नेताहरूले चुनावी रणनीतिबारे आ–आफ्ना सुझाव प्रस्तुत गरेका थिए। उम्मेदवार सञ्जु साहले सबै नेता–कार्यकर्ता काँधमा काँध मिलाएर एकढिक्का भएर अघि बढ्न आवश्यक रहेको बताउँदै अग्रज नेताहरूको मार्गदर्शन र कार्यकर्ताको साथ लिएर चुनावी अभियानलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

विश्रामपुर गाउँपालिकाका प्रमुख जुल्फिकार अलि भुटो (जुबेर) ले यो निर्वाचन मधेसीहरूको आत्मसम्मानको लडाइँ भएको बताउँदै सञ्जु साहलाई विजयी गराउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाउनुभयो।
यस्तै पार्टीकी महिला नेतृ रिता पटेलले महिला दिदीबहिनीहरू ठोस रणनीति बनाएर घरदैलो अभियानमा सक्रिय हुनुपर्ने आवश्यकता औंल्याइन्। प्रसौनी गाउँपालिकाका पूर्व गाउँपालिका प्रमुख भोला गुप्ताले वडा तहदेखि निर्वाचन क्षेत्रसम्म सशक्त रणनीति बनाएर अघि बढ्न सुझाव दिनुभयो।
स्वागत मन्तव्य राख्दै सोही गाउँपालिकाका पूर्व वडा अध्यक्ष सुरेश गुप्ताले कुनै पनि हालतमा बहरुपिया नेताहरूलाई जित्न नदिने दृढ अठोट व्यक्त गर्दै दिन–रात खटेर सञ्जु साहलाई भारी बहुमतले विजयी गराउने बताए।
कार्यक्रममा विद्यार्थी नेता शरधा यादवसहित फेटा, प्रसौनी, परवानीपुर, विश्रामपुर, जीतपुर लगायतका गाउँपालिकाबाट उल्लेखनीय संख्यामा नेता–कार्यकर्ताहरू तथा महिला नेतृहरूको सहभागिता रहेको थियो।