तिलावे पुल जीर्ण हुँदा वीरगञ्ज–बहुदरमाई आवागमन ठप्प, हजारौं स्थानीय प्रभावित

25

२८ माघ, वीरगञ्ज – पर्साको वीरगञ्ज महानगरपालिका र ग्रामीण क्षेत्रको बहुदरमाई नगरपालिकालाई जोड्ने गण्डक नहरस्थित तिलावे पुल लामो समयदेखि जीर्ण अवस्थामा पुगेपछि सवारी आवागमन गम्भीर रूपमा प्रभावित भएको छ। ग्रामीण भेगका लागि ‘लाइफलाइन’ का रूपमा परिचित उक्त पुल प्रयोग गर्न नपाउँदा हजारौं स्थानीय बासिन्दा, किसान, व्यापारी, विद्यार्थी तथा बिरामीहरू प्रत्यक्ष मारमा परेका छन्।

करिब दुई वर्षदेखि पुलबाट चार चक्के तथा ठूला सवारी साधन सञ्चालन हुन नसक्दा दैनिक जनजीवन कष्टकर बनेको छ। सुरक्षाका कारण जोखिमपूर्ण बनेको पुलमा सवारी आवागमन रोकिए पनि समयमै मर्मत, पुनर्निर्माण वा प्रभावकारी वैकल्पिक व्यवस्था नगर्दा समस्या झन् जटिल बन्दै गएको स्थानीयको गुनासो छ।

बहुदरमाई नगरपालिका–४ का प्रेम साह तुराहाले सम्बन्धित निकायले पटक–पटक अनुगमन गरे पनि ठोस प्रगति नदेखिएको बताए। “सम्बन्धित निकायका मानिसहरू आउँछन्, निरीक्षण गरेजस्तो गर्छन् अनि फर्किन्छन्,” उनले भने, “पुल भत्किएको करिब दुई वर्ष हुन लागिसक्यो, तर कहिलेसम्म बन्ने हो भन्ने कुरा यहाँका जनतालाई थाहा छैन।”

उनका अनुसार करिब एक महिनादेखि पुलको डाइभर्सन निर्माण सुरु भए पनि हाल पैदल यात्री र हलुका सवारी साधन मात्र आवतजावत गर्न सक्ने अवस्था छ। चार चक्के तथा ठूला सवारी साधनका लागि कुनै विकल्प नहुँदा व्यापार, उपचार तथा अत्यावश्यक सेवामा गम्भीर असर परेको छ।

यात्रु रमिता साहका अनुसार पुल जीर्ण भएपछि वर्षौंदेखि आवागमनमा सास्ती भोग्नुपरेको छ। “जनप्रतिनिधि र सरकारी निकायले समयमै ध्यान नदिँदा सर्वसाधारण मारमा परेका छन्,” उनले भनिन्। विशेषगरी वर्षायाममा गण्डक नहरमा पानीको सतह बढ्दा पैदल यात्रा समेत जोखिमपूर्ण बन्ने गरेको उनको भनाइ छ।

स्थानीय किसान हरिनारायण साहले पुल बन्द हुँदा कृषि उपज बजारसम्म पुर्‍याउन ठूलो समस्या भइरहेको बताए। “तरकारी, धान र गहुँ बोकेर टाढाको वैकल्पिक बाटो प्रयोग गर्नुपर्दा ढुवानी खर्च बढेको छ,” उनले भने, “समयमै बजार पुर्‍याउन नसक्दा उचित मूल्य पनि पाइँदैन।” उनले सम्बन्धित निकायको ढिलासुस्तीप्रति आक्रोश व्यक्त गरे।

दैनिक मजदुरीका लागि वीरगञ्ज आवतजावत गर्ने गेना साहले पुल नचल्दा जोखिम मोलेर यात्रा गर्नुपरेको बताए। “पैदल हिँड्दा सधैं डर लाग्छ, पानी बढ्दा झन् समस्या हुन्छ,” उनले भने, “छिटो पुल बनेको हेर्न चाहेका छौं, तर कहिले बन्छ भन्ने थाहा छैन।”

स्थानीयवासीका अनुसार पुल बिग्रनु नयाँ समस्या होइन। समयमै मर्मत सम्भार र दीर्घकालीन योजना नबनाइँदा पुल पूर्ण रूपमा जीर्ण भई आवागमन बन्द हुन पुगेको उनीहरूको भनाइ छ।

यसैबीच, चालु आर्थिक वर्ष २०८२/०८३ मा नारायणी सिँचाइ व्यवस्थापन कार्यालय, पर्साबाट बोलपत्र आह्वान भई ममता इन्टरप्राइजेज कन्स्ट्रक्सन प्रा.लि., लोकन्थली–१, भक्तपुरले २ करोड ४६ लाख ६० हजार रुपैयाँमा पुलको डाइभर्सन निर्माणको ठेक्का पाएको छ। सम्झौताअनुसार निर्माण कार्य २०८२ माघ २३ गतेदेखि सुरु भई २०८३ जेठ १ गतेभित्र सम्पन्न गर्नुपर्नेछ।

ठेक्का प्राप्त कम्पनीले तोकिएको समयसीमाभित्रै डाइभर्सन निर्माण सम्पन्न गर्ने जनाएको छ। तर विगतका अनुभवका आधारमा स्थानीयवासी अझै आशंकित छन्। उनीहरूको माग स्पष्ट छ – सम्झौता कागजमै सीमित नहोस्, काम समयमै र गुणस्तरीय रूपमा सम्पन्न होस्।

Leave A Reply

Your email address will not be published.