मधेश प्रदेशमै सबैभन्दा कम बेरुजु भएको पालिका बन्यो परवानीपुर गाउँपालिका
परवानीपुर बारा, आनन्द पटेल।
महालेखापरीक्षकको कार्यालयद्वारा सार्वजनिक गरिएको ६३औँ वार्षिक प्रतिवेदन २०८३ अनुसार मधेश प्रदेशका १३६ स्थानीय तहमध्ये परवानीपुर गाउँपालिका सबैभन्दा कम बेरुजु हुने पालिका बन्न सफल भएको छ।
प्रतिवेदनअनुसार गाउँपालिकाको बेरुजु दर केवल ०.२९ प्रतिशत रहेको छ, जसका आधारमा परवानीपुर गाउँपालिकाले मधेश प्रदेशमा प्रथम स्थान हासिल गरेको हो। त्यस्तै, देशभरका ७५३ स्थानीय तहमध्ये गाउँपालिकाले ५९औँ स्थान प्राप्त गर्दै सुशासन, वित्तीय अनुशासन र पारदर्शिताको क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेको छ।

यस उपलब्धिप्रति गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाहरूले खुसी व्यक्त गरेका छन्। गाउँपालिकाले वित्तीय व्यवस्थापन, योजना कार्यान्वयन, लेखा प्रणालीको सुदृढीकरण तथा सार्वजनिक स्रोत–साधनको प्रभावकारी उपयोगमा विशेष ध्यान दिँदै आएको कारण यस्तो उपलब्धि हासिल भएको बताइएको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियारले यो सफलता सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयवासीको साझा प्रयासको प्रतिफल भएको बताए। उनले यस उपलब्धिका लागि सबैलाई बधाई दिँदै आगामी दिनमा शून्य बेरुजु कायम गर्ने लक्ष्य र प्रतिबद्धताका साथ गाउँपालिका अघि बढिरहेको जानकारी दिए।
“यो उपलब्धिले हामीलाई थप जिम्मेवार बनाएको छ। आगामी वर्षहरूमा शून्य बेरुजुको लक्ष्य हासिल गर्दै सुशासन, पारदर्शिता र जवाफदेहिताको क्षेत्रमा नमुना स्थानीय तहका रूपमा स्थापित हुने हाम्रो संकल्प छ,” प्रमुख प्रशासकीय अधिकृत रौनियारले बताए।
स्थानीय तहको आर्थिक अनुशासन र कार्यसम्पादन मूल्याङ्कनका दृष्टिले महालेखापरीक्षकको प्रतिवेदनलाई महत्वपूर्ण सूचकका रूपमा हेरिने गरिन्छ। यस्तो अवस्थामा परवानीपुर गाउँपालिकाले हासिल गरेको यो उपलब्धिलाई स्थानीय तहमा सुशासन र वित्तीय व्यवस्थापनको उदाहरणीय नमुनाका रूपमा हेरिएको छ।
गाउँपालिकाको यो सफलताले स्थानीय सरकारप्रति नागरिकको विश्वास अझ मजबुत बनाउनुका साथै अन्य स्थानीय तहलाई पनि वित्तीय अनुशासन र पारदर्शितामा सुधार गर्न प्रेरणा प्रदान गर्ने अपेक्षा गरिएको छ।