सूचना विवादमा पोखरिया अस्पतालका निमित्त मेसुको स्पष्टोक्ति– ‘कानुनी प्रक्रिया पूरा गरेर सूचना दिएका छौँ’

44

वीरगञ्ज । पर्साको प्रादेशिक अस्पताल पोखरियाका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. आनन्द रौनियारले अस्पतालसँग सम्बन्धित सूचना माग गर्ने नागरिकको अधिकार कुण्ठित नगरिएको दाबी गरेका छन्। उनले प्रचलित कानुन र प्रशासनिक प्रक्रिया पूरा गरी उपलब्ध गराउन मिल्ने सूचना माग कर्तालाई उपलब्ध गराइसकेको स्पष्ट पारेका छन्।

छिपहरमाई–१ का धर्मेन्द्र प्रसाद यादवले अस्पतालको आन्तरिक आम्दानी, खर्च, बैंक दाखिला, खरिद, भुक्तानी, बिल–बिजक, लेखा परीक्षण तथा बेरुजु सहितका आर्थिक तथा प्रशासनिक विवरण माग गर्दै २०८३ साउन ६ गते अस्पतालमा निवेदन दर्ता गराएका थिए। निवेदन दर्ता तथा सूचना माग गर्ने क्रममा आफूलाई असहयोग गरिएको यादवको दाबी थियो।

तर, निमित्त मेसु डा. रौनियारले भने अस्पतालले कानुनी प्रक्रिया अनुसार उपलब्ध गराउन मिल्ने सूचना उपलब्ध गराइसकेको बताएका छन्। सूचना उपलब्ध गराइसकेको अवस्थामा समेत आफ्नो तस्बिर सहित समाचार प्रकाशित गरिएको प्रति उनले आपत्ति जनाएका छन्।

रौनियारले प्रकाशित समाचारमा आफ्नो व्यक्तिगत चरित्रमा असर पर्ने गरी विषय प्रस्तुत गरिएको दाबी गर्दै त्यस विरुद्ध आवश्यक कानुनी उपचार खोज्ने चेतावनी समेत दिएका छन्।

उनका अनुसार अस्पतालले सूचना लुकाउने वा नागरिकको सूचनाको हक कुण्ठित गर्ने कुनै उद्देश्य राखेको छैन। सार्वजनिक निकायसँग रहेका सूचना उपलब्ध गराउँदा सूचनाको प्रकृति, सम्बन्धित निकायको अधिकार क्षेत्र तथा प्रचलित कानुनी व्यवस्था अनुसार प्रक्रिया पूरा गर्नुपर्ने उनको भनाइ छ।

‘हामीले दिन मिल्ने सबै सूचना दिएका छौँ। तर टेन्डरबाट खरिद गरिएको एसी कुन कम्पनीको हो, हरेक भुक्तानीको बिलको कपी, सप्लायर्सको नाम, औषधि कुन कम्पनीबाट ल्याइएको हो, ल्याब केमिकल कुन कम्पनीको हो भन्ने जस्ता विषयमा कागजात मागियो,’ रौनियारले भने, ‘यी कागजात नियम अनुसार सम्बन्धित सरकारी निकायलाई उपलब्ध गराउने विषय हुन् भनेर जानकारी गराउँदा पनि अस्पतालको दैनिक कामकाजमा अवरोध हुने अवस्था आयो।’

उनका अनुसार सूचना माग गर्ने क्रममा अस्पताल प्रशासनको नियमित काम प्रभावित हुन थालेपछि थप निवेदन दर्ता नगर्ने जानकारी गराइएको हो।

‘अस्पतालको सेवा प्रवाह नै प्रभावित हुने गरी बारम्बार एउटै विषयमा कागजात माग्ने र प्रशासनिक काममा अवरोध गर्ने अवस्था आएपछि अब केही पनि दर्ता गर्दैनौँ भनेर जानकारी गराएका हौँ,’ रौनियारले भने।

अस्पतालले यादवलाई उपलब्ध गराएको लिखित जवाफमा सूचनाको हकसम्बन्धी ऐन, २०६४, सार्वजनिक खरिद ऐन, २०६३, सार्वजनिक खरिद नियमावली, २०६४ तथा विभिन्न कार्यविधि र परिपत्रका आधारमा सूचना उपलब्ध गराइएको उल्लेख छ।

अस्पतालका अनुसार चालु तथा पुँजीगततर्फको वार्षिक बजेट, खर्च, खरिद विधि र बाँकी बजेट सम्बन्धी विवरण दुई पानामा उपलब्ध गराइएको छ। त्यस्तै, ई–बिडिङ मार्फत खरिद गरिएका सामग्रीको मूल्य खुल्ने विवरण तथा अनलाइन प्रणालीमा दाखिला भएको दाखिला प्रतिवेदन समेत चार पाना उपलब्ध गराइएको अस्पतालको पत्रमा उल्लेख छ।

डा. रौनियारले आफू विरुद्ध प्रकाशित समाचारले व्यक्तिगत चरित्रमा असर पर्ने गरी विषय प्रस्तुत गरेको दोहोर्‍याउँदै त्यस विषयमा आवश्यक कानुनी उपचार खोज्ने बताएका छन्।

Leave A Reply

Your email address will not be published.