प्याब्सन पर्सा र वीरगञ्ज न्यूरो हस्पिटलबीच सम्झौता, विद्यार्थी–अभिभावकलाई उपचारमा १५% छुट

63

वीरगञ्ज, ४ भदौ । पर्साका निजी तथा आवासीय विद्यालयमा अध्ययनरत विद्यार्थी, उनीहरूका अभिभावक, शिक्षक तथा कर्मचारीले वीरगञ्ज स्थित वीरगञ्ज न्यूरो एण्ड जनरल हस्पिटल रिसर्च सेन्टर प्रा.लि.बाट उपलब्ध स्वास्थ्य उपचार सेवामा १५ प्रतिशत सहुलियत पाउने भएका छन्।

स्वास्थ्य सेवामा सहज पहुँच पुर्‍याउने तथा उपचारमा लाग्ने आर्थिक भार न्यूनीकरण गर्ने उद्देश्यले निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) पर्सा र वीरगञ्ज न्यूरो एण्ड जनरल हस्पिटल रिसर्च सेन्टरबीच स्वास्थ्य उपचार सेवामा सहुलियत प्रदान गर्ने सम्झौता भएको हो।

सम्झौतामा प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरी, वीरगञ्ज महानगर प्याब्सनका अध्यक्ष राहुल श्रीवास्तव तथा अस्पतालका सञ्चालक डा. श्यामबाबु प्रसादले हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार प्याब्सनमा आबद्ध विद्यालयका विद्यार्थी, उनीहरूका बाबु, आमा वा कानुनी अभिभावक, शिक्षक तथा प्रशासनिक र अन्य कर्मचारीले अस्पतालबाट उपलब्ध हुने स्वास्थ्य उपचार सेवामा १५ प्रतिशत छुट पाउनेछन्।

सहुलियत लिन विद्यार्थीले विद्यालयबाट जारी परिचयपत्र, शिक्षक तथा कर्मचारीले विद्यालयको परिचयपत्र वा आधिकारिक प्रमाण पेश गर्नुपर्नेछ। अभिभावकले सम्बन्धित विद्यार्थीको परिचयपत्र तथा आवश्यक परे विद्यालयको सिफारिसपत्र पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।

अस्पतालले आवश्यक प्रमाणिकरण गरेपछि मात्र सहुलियत लागू गर्नेछ। यद्यपि आकस्मिक उपचार आवश्यक परेको अवस्थामा परिचयपत्र वा सिफारिसपत्र तत्काल उपलब्ध नभए पनि उपचारमा ढिलाइ नगरिने सम्झौतामा उल्लेख छ। उपचारपछि लाभग्राहीको पात्रता प्रमाणित भएमा सम्झौता अनुसारको सहुलियत समायोजन गर्न सकिने व्यवस्था गरिएको छ।

यसैक्रममा प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरीले आज यो हाम्रालागि खुशीको कुरा भएको बताए। उनले थोरै अब विद्यार्थीको साथसाथै अभिभावकको पनि उपचारका अब सहज र मदत दुवै मिल्ने बताए ।

सो अवसरमा प्याब्सन पर्साका उपाध्यक्ष सुशीला साहले यो कदम विद्यार्थी, अभिभावक, शिक्षक, शिक्षिका लगायत यससँग जोडिएका सबैले उपचारमा सहुलियत पाउने र यो हाम्रा लागि खुशीको कुरा भएको बताइन् ।

त्यस्तै प्याब्सन महानगरका अध्यक्ष राहुल श्रीवास्तवले प्याब्सनको यो सम्झौता एउटा समाजको लागी ठूलो उपलब्धि हासिल गरेको बताए । उनले यो सम्झौताले अब हामीसँग जुडेका हरेक व्यक्तिले अब स्वास्थ्य लाभ लिने बताए ।

सम्झौता अनुसार प्याब्सनले आबद्ध विद्यालयहरूलाई सहुलियतबारे जानकारी गराउनेछ। साथै दुवै पक्षले स्वास्थ्य सचेतना कार्यक्रम, स्वास्थ्य परीक्षण, स्वास्थ्य शिविर लगायत स्वास्थ्य सम्बन्धी विभिन्न कार्यक्रम सञ्चालनमा सहकार्य गर्ने सहमति गरेका छन्।

सो अवसरमा प्याब्सन वीरगन्ज महानगरका कोषाध्यक्ष सुरज बाबु पटेल, सलाहकार लालबाबु पटेल, हस्पिटलका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो।

सम्झौताबाट निजी विद्यालयमा आबद्ध विद्यार्थी, अभिभावक, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच पुग्नुका साथै उपचार खर्चमा समेत राहत पुग्ने अपेक्षा गरिएको छ ।

Leave A Reply

Your email address will not be published.