परवानीपुरमा श्री अष्ट भुजे वैष्णवी देवी दुर्गा मन्दिर संरक्षण समितिको साधारण सभा सम्पन्न
परवानीपुर गाउँपालिका–३ स्थित परवानीपुर बजारमा रहेको श्री अष्ट भुजे वैष्णवी देवी दुर्गा मन्दिर संरक्षण समितिको साधारण सभा सम्पन्न भएको छ। सभामा समितिका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो।
२३ सदस्यीय समितिमार्फत मन्दिरको संरक्षण, व्यवस्थापन तथा धार्मिक गतिविधिहरू सञ्चालन हुँदै आएको समितिले जनाएको छ। साधारण सभामा समितिको विगतको गतिविधि, आर्थिक अवस्था तथा आगामी कार्ययोजनाबारे छलफल गरिएको थियो।
समितिका अध्यक्ष अमर प्रसाद यादवका अनुसार विगतमा परवानीपुर बजारमा दशैँको अवसरमा दुर्गा माताको पूजा गर्ने परम्परा रहे पनि पछि व्यवस्थित रूपमा पूजा–आराधना गर्ने उद्देश्यले मन्दिर निर्माण गरी समिति गठन गरिएको हो।
मन्दिर निर्माणका क्रममा बाहिरबाट मजदुर नबोलाई समितिका सदस्य तथा स्थानीय व्यापारीहरूले आफ्नै श्रम र सहयोगमा निर्माण कार्य सम्पन्न गरेको अध्यक्ष यादवले बताए। स्थानीयवासीको सामूहिक प्रयासमा निर्माण भएको मन्दिरमा विगत १३ वर्षदेखि प्रत्येक वर्ष नियमित रूपमा दुर्गा माताको पूजा हुँदै आएको छ।
साधारण सभामा समितिको आर्थिक अवस्थाबारे समेत जानकारी गराइएको थियो। अध्यक्ष यादवका अनुसार समितिका बैंक खातामा क्रमशः रु. ६ लाख ५० हजार र रु. ३ लाख ५० हजार मौज्दात रहेको छ।
समितिले आगामी दिनमा मन्दिरको संरक्षण, धार्मिक परम्पराको निरन्तरता तथा आवश्यक पूर्वाधार विकासका लागि स्थानीयवासी, भक्तजन तथा सरोकारवालासँग सहकार्य गर्दै अघि बढ्ने जनाएको छ।