महालक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडद्वारा ३५ लाख संरक्षित पुँजी फिर्ता, सदस्य सम्मान
वीरगञ्ज । वीरगञ्ज–माईस्थान गीता मन्दिर रोडस्थित महालक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट संरक्षित पुँजी फिर्ताको रकम रु. ३५ लाख आफ्ना बचतकर्ता तथा ऋणी सदस्यहरूलाई वितरण गर्दै सम्मान गरेको छ। संस्थाले विशेष कार्यक्रम आयोजना गरी मुनाफाको २५ प्रतिशत रकम संरक्षित पुँजी फिर्ता शीर्षकमा वितरण गरेको जनाएको छ।
संस्थाले सदस्यहरूलाई निःशुल्क मोबाइल बैंकिङ तथा प्रविधिमैत्री सेवा प्रदान गर्दै आएको जानकारी दिँदै मुनाफाबाट बोनसस्वरूप संरक्षित पुँजी फिर्ता गरिएको स्पष्ट पारेको छ। सहकारीले नेपाल सरकारलाई रु. ६० लाखभन्दा बढी विभिन्न कर तिर्दै आएको उल्लेख गर्दै सामाजिक उत्तरदायित्वअन्तर्गत वीरगञ्ज महानगरपालिकालाई करिब रु. २ लाख बराबरका ४३ थान कुर्सी सहयोग गरेको जनाएको छ। साथै मानव सेवा आश्रमलाई रु. १ लाख ११ हजार आर्थिक सहयोग प्रदान गरिएको संस्थाले जानकारी दिएको छ।
सदस्य सम्मान कार्यक्रममा संस्थाका अध्यक्ष इश्वरचन्द्र गौतम, मधेश प्रदेश बचत तथा ऋण सहकारी संघका प्रस्तावित अध्यक्ष राजेश पण्डित, कोषाध्यक्ष सत्येन्द्र कुमार सिंह, सञ्चालक अधिवक्ता बालमुकुन्द खरेल, सदस्य महान रञ्जन प्रसाद, लेखा समिति संयोजक प्रभुनारायण प्रसाद सेढाइ, सदस्य प्रकाशमान सिंह अमात्य तथा भरत साह लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रम संस्थाका प्रबन्धक जितेन्द्र वर्माले सञ्चालन गरेका थिए। उनले सहकारीलाई नीति र विधिअनुसार पारदर्शी रूपमा सञ्चालन गर्दै सदस्य हितलाई केन्द्रमा राखेर काम भइरहेको बताए। पर्सा जिल्लामै मात्र नभई नेपालभर उत्कृष्ट सहकारी संस्थाको पहिचान बनाउन संस्था सफल हुँदै गएको उनको दाबी छ ।