मधेशमा न्युरोसर्जरी सेवाबारे NESON सम्मेलन वीरगञ्जमा सम्पन्न

37

फागुन १७, वीरगञ्ज। नेपालका न्युरोसर्जनहरूको साझा संस्था Nepalese Society of Neurosurgeons (NESON) को सम्मेलन २०२६–२७ गते बेलुका ६ बजेदेखि वीरगञ्जस्थित Clark Resort मा सम्पन्न भएको छ। सम्मेलनको मुख्य विषय “मधेश प्रदेशमा न्युरो सर्जरीका सेवाहरू” रहेको थियो।

कार्यक्रम बाराको परवानीपुर–५, नौतनमा रहेको L.S. Neuro & General Hospital को आयोजनामा सञ्चालन गरिएको थियो। आयोजकका अनुसार सम्मेलनको उद्देश्य मधेश प्रदेशसहित बारा र पर्सा जिल्लामा मस्तिष्क तथा स्नायु सम्बन्धी उपचार सेवाको अवस्था, उपलब्ध सुविधा, चुनौती र आगामी सम्भावनाबारे खुला छलफल गर्नु हो।

नेपालभरका विभिन्न स्थानबाट न्युरोसर्जन, चिकित्सक, स्वास्थ्यकर्मी तथा मेडिकल विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। आयोजक संस्थाका सञ्चालक रामप्रवेश प्रसाद कुर्मीले यस्ता सम्मेलनले चिकित्सकहरूबीच अनुभव आदान–प्रदानमा सहयोग पुग्ने र बिरामीलाई अझ प्रभावकारी उपचार सेवा दिन टेवा पुग्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा विभिन्न विषयमा विशेषज्ञ चिकित्सकहरूले आ–आफ्ना प्रस्तुति राखेका थिए।

मेडिकल डाइरेक्टर डा. अर्जुन पटेलले बारा–पर्सा क्षेत्रमा न्युरोसर्जरी सेवाको इतिहास र विकासक्रमबारे जानकारी प्रस्तुत गरे।

वरिष्ठ न्युरोसर्जन डा. सञ्जीव कुमार झाले अस्पतालका उपलब्धि, मस्तिष्क तथा स्नायु शल्यक्रिया सेवा, प्रयोग भइरहेका प्रविधि र उपचार प्रक्रियाबारे प्रकाश पारे।

डा. विपिन चौरसियाले न्युरो सर्जरीमा जर्नल प्रकाशनका चुनौती तथा ‘प्रिडेटरी जर्नल’बाट जोगिने उपायबारे प्रस्तुति दिए।

जेनरल फिजिसियन डा. अजय कुमार गुप्ताले एक्युट इस्केमिक स्ट्रोक (आकस्मिक पक्षघात) को उपचार व्यवस्थापनबारे आफ्नो अनुभव साझा गरे।

वरिष्ठ फिजियोथेरापिस्ट उदय मिश्रले न्युरो रिहाबिलिटेशन (स्नायु सम्बन्धी पुनर्स्थापना उपचार) का प्रोटोकलहरूबारे जानकारी दिए।

प्रस्तुतिहरूले मधेश प्रदेशसहित बारा र पर्सा क्षेत्रमा गुणस्तरीय न्युरोसर्जरी सेवाको विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। आयोजक संस्थाले तराई क्षेत्रमा अत्याधुनिक न्युरोसर्जरी सेवा उपलब्ध गराउँदै आएको उल्लेख गर्दै यस्ता कार्यक्रममार्फत स्थानीय चिकित्सकलाई अद्यावधिक ज्ञान र सीप प्रदान गर्ने लक्ष्य रहेको जनाएको छ।

सम्मेलनले चिकित्सकहरूबीच सहकार्य बढाउने, स्थानीय स्तरमै जटिल उपचार सम्भव बनाउने तथा बिरामीहरूलाई काठमाडौँ जानुपर्ने बाध्यता कम गर्न योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

Leave A Reply

Your email address will not be published.