अत्यधिक गर्मीका कारण वीरगञ्ज महानगरपालिकाद्धारा महानगर क्षेत्रभित्रका सबै विद्यालयको समयतालिका परिवर्तन
वीरगञ्ज । अत्यधिक गर्मीका कारण पठनपाठनमा कठिनाइ भईरहेको भन्दै वीरगञ्ज महानगरपालिकाले महानगर क्षेत्रभित्रका सबै विद्यालयको समयतालिका परिवर्तन गरेको छ। अबदेखि सामुदायिक तथा संस्थागत विद्यालयहरू बिहान ६ बजेबाट सञ्चालन हुने भएका छन्।
महानगरको प्रमुख शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेद्वारा जारी विज्ञप्तिमा जनाइएअनुसार, यो नयाँ समयतालिका २०८२ साल जेठ १ गतेदेखि अर्को सूचना जारी नभएसम्म लागू हुनेछ। दिउँसोको चर्को गर्मीले विद्यार्थी तथा शिक्षकको स्वास्थ्यमा प्रतिकूल असर पर्ने देखिएको भन्दै पठनपाठनको समय बिहानै सारिएको हो।
महानगरले सबै विद्यालयलाई तोकिएको समयभन्दा कम अवधि शिक्षण कार्य नगर्न निर्देशन दिँदै नयाँ समय तालिका पालना गर्न आग्रह गरेको छ। यस निर्णयले विद्यार्थीको स्वास्थ्य सुरक्षासँगै नियमित अध्ययनमा सन्तुलन कायम गर्ने अपेक्षा गरिएको छ।