भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुरका कार्यालय प्रमुख २४ लाख घुस सहित पक्राउ
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुरका कार्यालय प्रमुखलाई २४ लाख रुपैयाँसहित पक्राउ गरेको छ । आयोगको अनुसन्धान टोलीले कार्यालय प्रमुख कुमार आचार्यसहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।
आयोगका अनुसार भक्तपुरको चाँगुनारायण नगरपालिकास्थित १४ रोपनी चार आना जग्गा मोही र तलसिङको लगत कट्टा गरी उक्त जग्गा मोहीको नाममा जग्गाधनी प्रमाणपुर्जा बनाउने प्रयोजनका लागि २४ लाख ५० हजार रुपैयाँ घुस माग गरिएको उजुरीको आधारमा कार्यालय प्रमुख आचार्यसहित तीनजनालाई पक्राउ गरिएको थियो ।
आयोगको टङ्गालबाट खटिई गएको टोलीले कार्यालय प्रमुख कुमार आचार्यको साथबाट मोबाइल डिभाइस दुई थान र भूमिसुधार शाखाका नायब सुब्बा दीपकप्रसाद अधिकारीको साथबाट मोबाइल एक थान तथा कार्यालय सहयोगी टीकाराम राउतको साथबाट मोबाइल एक थानसहित घुस रकम २४ लाख ५० हजार रुपैयाँसहित कार्यालयको परिसरबाट नियन्त्रणमा दिएको थियो ।