अब जुनसुकै जिल्लाबाट नागरिकताको प्रतिलिपि लिन सकिने

42

काठमाडौं । अब नागरिकताको प्रतिलिपि लिनका लागि नागरिकता जारी भएको जिल्लामै पुग्नुपर्ने बाध्यता हटेको छ । नेपाल सरकारको १०० बुँदे शासकीय सुधार कार्यसूचीको बुँदा नम्बर २१ तथा नेपाल नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८३ बमोजिम सेवाग्राहीले देशका जुनसुकै जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रतिलिपि लिन सक्ने भएका छन् ।

नागरिकताको प्रमाणपत्र आगलागी, पानीले भिजेर, च्यातिएर वा अन्य कारणले नष्ट भएको, हराएको अथवा नयाँ ढाँचामा आवश्यक परेको अवस्थामा यो सुविधा लिन सकिनेछ ।

गृह मन्त्रालयको २०८३ कात्तिक ९ गतेको परिपत्र अनुसार काठमाडौं उपत्यकामा बसोबास गर्ने अन्य जिल्लाका नागरिकलाई सहज सेवा उपलब्ध गराउन तीनवटै जिल्ला प्रशासन कार्यालयबाट प्रदेशगत रूपमा सेवा प्रवाहको व्यवस्था मिलाइएको छ ।

जस अनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौंले बागमती, गण्डकी र लुम्बिनी प्रदेशका नागरिकलाई सेवा दिनेछ । जिल्ला प्रशासन कार्यालय ललितपुरबाट कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकले सेवा लिन सक्नेछन् । यस्तै, जिल्ला प्रशासन कार्यालय भक्तपुरबाट कोशी र मधेश प्रदेशका नागरिकलाई सेवा उपलब्ध गराइने छ ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयमा आवेदन दिने सेवाग्राहीको जैविक विवरण राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली र केन्द्रीय नागरिकता सूचना व्यवस्थापन प्रणालीमा रहेको विवरणसँग हुबहु मिलेमा सहज रूपमा नागरिकताको प्रतिलिपि जारी गरिने छ ।

तर, अभिलेखमा विवरण नमिलेको, साविकको नागरिकता भन्दा फरक नाम, थर, जन्ममिति वा अन्य विवरण सच्याएर प्रतिलिपि लिन खोजिएको अथवा आवेदन प्रथम दृष्टिमै शंकास्पद देखिएको अवस्थामा भने नागरिकता प्राप्त गरेको साविककै जिल्लामा सम्पर्क गर्नुपर्ने काठमाडौं जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.