विश्व पोलियो दिवसमा रोटरी क्लब वीरगञ्जद्वारा तीन जनालाई ट्राइसाइकल वितरण
वीरगञ्ज । विश्व पोलियो दिवसको अवसरमा रोटरी क्लब अफ वीरगञ्जले पर्साको सखुवापरसौनीमा शारीरिक रूपमा अशक्त तीन जनालाई ट्राइसाइकल वितरण गरेको छ।
रोटरी डिस्ट्रिक्ट ३२९२ द्वारा अक्टोबर २४ देखि ३१ सम्म सञ्चालन भइरहेको विश्व पोलियो सप्ताहअन्तर्गत विद्यालय परिसरमा आयोजित कार्यक्रममा अजयराज माझी, सुरज उराँव र मुनिलाल माझीलाई ट्राइसाइकल प्रदान गरिएको हो।
शारीरिक रूपमा अशक्त व्यक्तिहरूको दैनिक जीवन सहज बनाउने, आवतजावतमा सहयोग पुर्याउने र आत्मनिर्भर बन्न प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको रोटरी क्लबले जनाएको छ।
ट्राइसाइकल प्राप्त गरेपछि लाभग्राहीहरूले दैनिक आवतजावत तथा घरायसी कामकाजमा सहज हुने विश्वास व्यक्त गरेका थिए। यस्ता सहयोगले शारीरिक रूपमा अशक्त व्यक्तिहरूको आत्मविश्वास बढाउनुका साथै सामाजिक गतिविधिमा सहभागिता जनाउनसमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा रोटरी क्लब अफ वीरगञ्जका अध्यक्ष राकेश मिश्र, रोटरी क्लब अफ वीरगञ्ज मेट्रोपोलिसका अध्यक्ष राजकिशोर प्रसाद, क्लबका पूर्वअध्यक्ष सोहन पोद्दार, अध्यक्ष निर्वाचित दिनदयाल केडिया तथा क्लब सम्पादक राजेन्द्र चौधरीलगायतको उपस्थिति रहेको थियो।
प्रत्येक वर्ष अक्टोबर २४ मा मनाइने विश्व पोलियो दिवसले पोलियो उन्मूलनका लागि खोप, जनचेतना र स्वास्थ्य सेवाको पहुँच विस्तारमा जोड दिँदै आएको छ। रोटरी इन्टरनेसनलले दशकौँदेखि पोलियो उन्मूलन अभियानमा योगदान पुर्याउँदै आएको छ।
विश्व पोलियो सप्ताहका अवसरमा आयोजित ट्राइसाइकल वितरण कार्यक्रमले पोलियो उन्मूलनको सन्देशसँगै मानवीय सेवा, सामाजिक उत्तरदायित्व र अपाङ्गता भएका व्यक्तिहरूको सहज जीवनयापन तथा सामाजिक समावेशिताको महत्त्वलाई समेत उजागर गरेको छ।
रोटरी क्लब अफ वीरगञ्जले आगामी दिनमा पनि समुदायको आवश्यकता पहिचान गरी सामाजिक तथा मानवीय सेवाका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।