अमित आलोकको प्रमुख आतिथ्यतामा लिटिल बडी प्री–स्कुलको वार्षिक खेलकुद सुरु

112

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–८ पानी ट्याङ्कीमा अवस्थित लिटिल बडी प्री–स्कुलले प्याप्सनको ३५औँ स्थापना दिवसको अवसरमा वार्षिक खेलकुद कार्यक्रम आयोजना गरेको छ।

बिहीबार आयोजित कार्यक्रम लिटिल बडी प्री–स्कुलका प्रिन्सिपल विजय बलको सभापतित्व तथा सनसाइन बोर्डिङ स्कुलका सञ्चालक एवं प्याप्सन महानगर सचिव अमित आलोकको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। प्रमुख अतिथि आलोकले दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्याप्सन महानगर सचिव अमित आलोकले लिटिल बडी प्री–स्कुलले छोटो समयमै बालबालिकाको चेतनात्मक, मानसिक र शारीरिक विकासमा उल्लेखनीय प्रगति गरेको उल्लेख गरे। तीन वर्षको अवधिमा विद्यालयले बालमैत्री हेरचाह तथा शिक्षण वातावरणमा सुधार ल्याउँदै उल्लेखनीय उपलब्धि हासिल गरेको भन्दै उनले प्रशंसा व्यक्त गरे।

वीरगञ्जमा साना बालबालिकालाई केन्द्रमा राखेर शिक्षण गर्ने संस्थाहरू कम रहेको अवस्थामा लिटिल बडी प्री–स्कुलले बालबालिकाको मानसिक, शारीरिक तथा भौतिक विकासमा सकारात्मक भूमिका खेलेको उल्लेख गर्दै उनले आगामी दिनमा अझ बढी सफलता हासिल गर्न शुभकामना व्यक्त गरे।

कार्यक्रम अन्तर्गत प्ले ग्रुप, पीजी र नर्सरीका नानीहरूले विभिन्न खेलकुद प्रतियोगिता तथा नृत्य प्रस्तुत गरेका थिए। शुक्रबार एलकेजी र युकेजीका विद्यार्थीहरूको खेलकुद तथा सांस्कृतिक कार्यक्रम आयोजना हुने प्रिन्सिपल विजय बलले जानकारी दिए।

वार्षिक खेलकुद कार्यक्रममा मौन मकालु बोर्डिङ स्कुलका प्रिन्सिपल एवं प्याप्सन महानगर अध्यक्ष राहुल श्रीवास्तव, जनभण्डापुर दैनिकका कार्यकारी सम्पादक जगत राई, खेलप्रेमी विष्णु विशम्बर मल्ल, पत्रकार दिपु वर्णवाल, शिक्षिका रिया रौनियार लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रमको स्वागत मन्तव्य सुप्रिया पौडेलले गरेकी थिइन् भने सहजीकरण स्वेता गुप्ताले गरेकी थिइन्।

Leave A Reply

Your email address will not be published.