आचारसंहिता उल्लंघनप्रति नेपाल पत्रकार महासंघ पर्साको ध्यानाकर्षण, कडा कारबाहीको चेतावनी

63

वीरगञ्ज ।

नेपाल पत्रकार महासंघ पर्सा शाखाले जिल्लामा सञ्चालित केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आधारित मिडियाद्वारा पत्रकार आचारसंहिताको गम्भीर उल्लंघन भइरहेको भन्दै आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।

महासंघका सचिव विजयकुमार महतोद्वारा आज जारी प्रेस विज्ञप्तिमा विशेषगरी फेसबुक र युट्युबमार्फत सामाजिक सद्भाव, जबरजस्ती करणी तथा व्यक्तिको गोपनीयतासँग सम्बन्धित संवेदनशील विषयहरूमा गैरजिम्मेवारपूर्ण तरिकाले समाचार सम्प्रेषण भइरहेको उल्लेख गरिएको छ।

विज्ञप्तिमा समाचार संकलन तथा प्रसारणका क्रममा न्यूनतम शिष्टता र व्यावसायिक मर्यादाको समेत ख्याल नगरी अभद्र शैली अपनाइँदा समग्र पत्रकारिता क्षेत्रकै विश्वसनीयतामाथि प्रश्न उठेको महासंघको ठहर रहेको जनाइएको छ।

महासंघले पत्रकारिताको आधारभूत मान्यता र आचारसंहितालाई बेवास्ता गर्दै भइरहेका यस्ता गतिविधि तत्काल रोक्न आग्रह गर्दै अन्यथा कडा कारबाही गर्ने चेतावनी दिएको छ।

साथै, सम्पूर्ण सञ्चारकर्मी तथा सञ्चारमाध्यमलाई आचारसंहिताको पूर्ण पालना गर्दै जिम्मेवार र मर्यादित पत्रकारिता गर्न अपिल गरिएको छ। महासंघले आचारसंहिता उल्लंघनलाई बेवास्ता गरिए त्यसबाट उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मेवारी सम्बन्धित पक्षले नै लिनुपर्ने स्पष्ट पारेको छ।

अटेरी गरी पुनः आचारसंहिता उल्लंघन भएको पाइएमा महासंघ स्वयंले कारबाही प्रक्रिया अगाडि बढाउने समेत जनाएको छ।

Leave A Reply

Your email address will not be published.