देशभर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने अभियान सुरु

67

काठमाडौं । सरकारले आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल तथा जुकाको औषधि खुवाउने अभियान सुरु गरेको छ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार र सोमबार दुई दिन उक्त अभियान सञ्चालन गरेको हो ।

स्वास्थ्य सेवा विभागको पोषण शाखा प्रमुख लिलाविक्रम थापाका अनुसार कार्यक्रममार्फत ६ महिनादेखि ५९ महिनासम्मका करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइँदैछ । साथै, एक वर्षदेखि पाँच वर्षमुनिका झण्डै २० लाख बालबालिकालाई जुकाको औषधि ‘अलबेन्डाजोल’ पनि खुवाइँदैछ ।

यस अभियानलाई प्रभावकारी बनाउन देशभरका स्थानीय तहले पायक पर्ने स्थानमा खोप केन्द्र स्थापना गरेका छन् । कार्यक्रममा करिब ५२ हजार महिला स्वास्थ्य स्वयम्‌सेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन गरिएको छ ।

चिकित्सकका अनुसार भिटामिन ‘ए’ले आँखाको दृष्टि, रोग प्रतिरोधात्मक क्षमता तथा बालबालिकाको वृद्धि विकासमा महत्त्वपूर्ण भूमिका खेल्छ । त्यस्तै, जुकाको औषधिले पेटका किरा नष्ट गर्नुका साथै कुपोषण, रगतको कमी, पेट दुख्ने र झाडापखालाजस्ता समस्या न्यूनीकरण गर्न मद्दत गर्दछ ।

नेपालमा भिटामिन ‘ए’ कार्यक्रम विसं २०५० मा आठ जिल्लाबाट सुरु भई २०५९ देखि देशभर विस्तार गरिएको हो । त्यस्तै, जुकाको औषधि खुवाउने कार्यक्रम विसं २०५६ मा १३ जिल्लाबाट सुरु भई २०६७ देखि सबै जिल्लामा लागू गरिएको छ । प्रत्येक वर्ष कात्तिक र वैशाख महिनामा यस्ता अभियान सञ्चालन हुँदै आएको छ ।

Leave A Reply

Your email address will not be published.