एमाले पर्सा बैठक सम्पन्नः संगठन सुदृढीकरणसँगै ओली रिहाइको माग

40

वीरगञ्ज, चैत २५— नेकपा एमाले पर्साको बुधबार सम्पन्न जिल्ला स्तरीय भेलाले पार्टी अध्यक्ष केपी शर्मा ओली लाई प्रतिशोधपूर्ण, पूर्वाग्रही तथा गैरकानुनी रूपमा पक्राउ गरिएको भन्दै तत्काल रिहा गर्न माग गरेको छ।

टाउन हलमा सम्पन्न भेलामा स्थानीय नेताहरूले वर्तमान सरकारमाथि प्रतिशोधको राजनीति सुरु गरेको आरोप लगाएका छन्। उनीहरूले गौरीबहादुर कार्की आयोगको प्रतिवेदन सार्वजनिक नगरी पूर्वप्रधानमन्त्री ओली तथा नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री रमेश लेखक लाई पक्राउ गरिएको भन्दै कडा विरोध जनाएका थिए।

भेलामा सहभागी नेताहरूले पार्टी संगठनभित्र देखिएका कमजोरीहरू सुधार गर्दै नेतृत्वको निर्देशनअनुसार संगठनलाई प्रभावकारी रूपमा परिचालन गर्नुपर्नेमा जोड दिएका छन्। वक्ताहरूले पार्टीलाई सशक्त रूपमा अघि बढाउन आन्तरिक सुधार अपरिहार्य रहेको धारणा राखे।

एमाले पर्साका नेता रुपेश पाण्डेले पार्टीलाई नयाँ ढंगले अघि बढाउनुपर्ने आवश्यकता औंल्याउँदै निर्देशन नमान्ने नेतामाथि कारबाही नगरेसम्म विकृति हट्न नसक्ने बताए। साथै, उनले पार्टीका हरेक आन्दोलनमा टिकट लिएर चुनाव लडेका नेता तथा निर्वाचित जनप्रतिनिधिहरूको अनिवार्य सहभागिता सुनिश्चित गर्नुपर्ने माग गरे।

जिल्ला कमिटी अध्यक्ष डा. विशम्भर कुमार शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य प्रभु हजरा, निर्मला देवकोटा, प्रदेश उपाध्यक्ष बिचारी प्रसाद यादव, जालिम मियाँ, प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री प्रमोद जयसवाल, जन्नत अन्सारी, जिल्ला सचिव महेश दास, मानदेव हजरा, सन्जु छतकुली लगायतले मन्तव्य व्यक्त गरेका थिए।

त्यस्तै, कार्यक्रममा पोखरिया नगरपालिकाका मेयर प्रधुम्न चौहान, पर्सागढी नगरपालिकाका मेयर गोकर्ण पाठक, बहुदरमाई नगरपालिकाका मेयर सिघासन साह तेली, उपमेयर सुष्मा कुशवाहा, नेताहरू शिवजी गुप्ता, बिना शर्मा, शिव पटेल तथा वीरगञ्ज महानगरका कार्यवाहक अध्यक्ष लियाकत अली लगायतको सहभागिता रहेको थियो। कार्यक्रमको सहजीकरण सुन्दर कुर्मीले गरेका थिए।

Leave A Reply

Your email address will not be published.