ओमप्रकाश सरार्फ भिस्वा–सबैठवामा सक्रिय, आधारभूत विकास पहिलो प्राथमिकता

72

पर्सा— पर्सा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार ओमप्रकाश सरार्फ ले घरदैलो अभियानलाई सशक्त बनाउँदै मतदातासँग प्रत्यक्ष संवाद गरेका छन्। जनमत पार्टी का तर्फबाट उम्मेदवार सरार्फले वीरगञ्ज महानगरपालिका वडा नम्बर–१५ भिस्वा र वडा नम्बर–२३ सबैठवामा सन्ध्याकालिन चुनावी सभा गर्दै स्थानीय बासिन्दासँग भेटघाट गरेका हुन्।

घरदैलो अभियानका क्रममा सरार्फले स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै उनीहरूले भोगिरहेका समस्याबारे विस्तृत जानकारी लिएका थिए। वडा नम्बर–१५ भिस्वामा सडकको दयनीय अवस्था, ढल निकासको अभाव, खानेपानीको समस्या र सरसफाइ व्यवस्थापनको कमजोरी प्रमुख रूपमा उठाइएको थियो। स्थानीयहरूले वर्षायाममा सडक हिलाम्मे हुने, नालाको अभावका कारण पानी जम्ने तथा दुर्गन्ध फैलिने समस्या समाधान गर्न माग गरेका थिए।

त्यसैगरी वडा नम्बर–२३ सबैठवामा पनि कच्ची सडक, अव्यवस्थित ढल, सडकबत्तीको अभाव, स्वास्थ्य सेवामा पहुँचको कमी र युवाहरूका लागि रोजगारीका अवसर नहुँदा उत्पन्न समस्या स्थानीयले उठाएका थिए। स्थानीय बासिन्दाले आधारभूत पूर्वाधार विकास, सुरक्षित सडक, नियमित सरसफाइ र स्वास्थ्य सेवा विस्तारलाई प्राथमिकतामा राख्न उम्मेदवार सरार्फसँग आग्रह गरेका थिए।

स्थानीयको गुनासो सुन्दै उम्मेदवार सरार्फले आफू चुनाव जितेर जनताको विश्वासको कदर गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले विकासका नाममा वर्षौंदेखि दोहोरिँदै आएका समस्या समाधान गर्न ठोस योजना र कार्यान्वयन आवश्यक रहेको उल्लेख गरे।

“जनताले देखिने, महसुस हुने विकास चाहेका छन्। सडक, ढल, खानेपानी, सरसफाइ र स्वास्थ्य सेवा जस्ता आधारभूत आवश्यकतामा सुधार ल्याउनु नै मेरो पहिलो प्राथमिकता हुनेछ,” उनले भने।

सरार्फले जनताको सुझावलाई आफ्नो चुनावी एजेन्डाको केन्द्रमा राख्ने बताएका छन्। उनले स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने, युवा उद्यमशीलतालाई प्रोत्साहन गर्ने, साना तथा मध्यम व्यवसायलाई सहयोग गर्ने र पूर्वाधार विकासलाई गति दिने योजनासमेत सुनाएका थिए। उनले जनतासँग प्रत्यक्ष संवाद गरेर समस्या बुझ्नु नै वास्तविक राजनीति भएको उल्लेख गर्दै, जनताको विश्वास नै आफ्नो सबैभन्दा ठूलो शक्ति भएको बताए।

Leave A Reply

Your email address will not be published.