कावरीया बाबाबाट आशीर्वाद लिँदै सन्तोष पटेलको घरदैलो, कमल छापमा साथ दिन आग्रह

71

पर्सा। पर्सा जिल्ला निर्वाचन क्षेत्र नं. २ अन्तर्गत पर्सागढी नगरपालिकाको हरपुर र जिग्ना क्षेत्रमा जनजागरण कार्यक्रम तथा स्थानीय अगुवाहरूसँग भेटघाट सम्पन्न भएको छ। उक्त कार्यक्रममा नेपाल जनता पार्टीका उम्मेदवार सन्तोष पटेलले टोल–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरेका थिए।

कार्यक्रमका क्रममा धार्मिक आस्था केन्द्रमा कावरीया बाबा ज्यूहरूबाट आशीर्वाद ग्रहण गर्नुका साथै सनातन धर्म रक्षा, धार्मिक पर्यटन प्रवर्द्धन र सामाजिक सद्भावका विषयमा विचारविमर्श गरिएको जनाइएको छ।

उम्मेदवार पटेलले “एक भोट राष्ट्रका लागि, हर हर कमल घर–घर कमल” भन्ने नारासहित परिवर्तनको अभियान अघि बढाइएको बताए। उनले युवा, महिला र विद्यार्थीलाई उच्च सम्मान, आर्थिक विकास, शिक्षा–स्वास्थ्यमा सुधार, सुशासन र सुरक्षा प्रत्याभूति आफ्नो प्राथमिकता रहेको स्पष्ट पारे।

उनले सनातन हिन्दू राष्ट्र नेपाल, रामराज्य स्थापना, भ्रष्टाचारमुक्त समाज निर्माण, किसानलाई उच्च प्राथमिकता, खेलकुद क्षेत्रलाई प्रोत्साहन, मेडिकल कलेज स्थापना, क्रिकेट स्टेडियम निर्माण तथा रामायण सर्किट निर्माणजस्ता योजनाहरू अघि सारे। रोजगारी सिर्जना र क्षेत्रीय समृद्धिका लागि स्पष्ट कार्ययोजना रहेको उल्लेख गर्दै उनले नेपाल जनता पार्टीको ‘कमल’ छापमा मतदान गरी साथ, सहयोग र आशीर्वाद दिन मतदातासँग अपिल गरेका छन्।

स्थानीय बासिन्दाले पनि क्षेत्रको विकास र स्वाभिमानको रक्षाका लागि सक्षम नेतृत्व आवश्यक रहेको धारणा व्यक्त गर्दै कार्यक्रमप्रति सकारात्मक प्रतिक्रिया दिएका थिए। चुनाव नजिकिँदै जाँदा पर्सा–२ मा राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ।

Leave A Reply

Your email address will not be published.