‘कोही नाङ्गो नरहोस्’ अभियान अन्तर्गत ८ सय थान कपडा वितरण

39

वीरगञ्ज, असार १९ — वीरगञ्ज कपडा बैंकले आफ्नो नियमित मासिक सामाजिक सेवा कार्यक्रम अन्तर्गत शुक्रबार वीरगञ्जको घण्टाघरमा करिब ८ सय थान नयाँ तथा पुराना लत्ताकपडा निःशुल्क वितरण गरेको छ।

स्व. रामजनम तिवारी बाबाको सालिक परिसरमा आयोजित कार्यक्रममा विपन्न, असहाय तथा आवश्यकतामा रहेका व्यक्तिहरूलाई कपडा वितरण गरिएको हो। वीरगञ्ज कपडा बैंकले हरेक आइतबारदेखि शुक्रबार बिहान १० बजेदेखि साँझ ६ बजेसम्म तथा शनिबार दिउँसो १ बजेसम्म आफ्नो कार्यालय (वीरगञ्ज–८) बाट पनि निःशुल्क कपडा वितरण गर्दै आएको कोषाध्यक्ष मनोज मिश्राले जानकारी दिए।

बैंकका अध्यक्ष लालबाबु सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संरक्षक वरिष्ठ समाजसेवी अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मी प्रमुख अतिथि रहेका थिए। विशिष्ट अतिथिमा सल्लाहकार अधिवक्ता पन्नालाल गुप्ता, सरदार जसपाल सिंह, बीपीएस +२ कलेजका सञ्चालक दीपक पटेल, ज्ञान निकेतन स्कुलका निर्देशक किशन सिंह, समाजसेवी गौरी गुप्ता लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि अधिवक्ता कुर्मीले ‘कोही पनि नाङ्गो नरहोस्’ भन्ने उद्देश्यका साथ वीरगञ्ज कपडा बैंकले विगत सात वर्षदेखि निरन्तर सामाजिक सेवा गर्दै आएको बताए। उनले आगलागी, बाढी लगायतका विपद्का बेला प्रभावित समुदायको घरदैलोमै पुगेर लत्ताकपडासहित आवश्यक सहयोग उपलब्ध गराउँदै आएको उल्लेख गर्दै सबैलाई आफ्नो आम्दानीको केही हिस्सा सामाजिक सेवामा खर्च गर्ने बानी विकास गर्न आग्रह गरे।

अध्यक्ष लालबाबु सिंहले कपडा बैंकको अभियानलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण दाता, सल्लाहकार, शुभेच्छुक, सञ्चारकर्मी तथा स्वयंसेवा पूर्वक कार्यक्रममा योगदान पुर्‍याउने सबैप्रति आभार व्यक्त गरे। उनले कार्यक्रम व्यवस्थापनमा सहयोग पुर्‍याएको बीपीएस +२ कलेजप्रति पनि विशेष धन्यवाद ज्ञापन गरे।

कार्यक्रममा बैंकका पदाधिकारी, सदस्य, समाजसेवी, सुरक्षाकर्मी तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

Leave A Reply

Your email address will not be published.