गोविन्द देवकोटालाई स्व. गोपाल गिरी पत्रकारिता पुरस्कार दिने निर्णय
वीरगञ्ज । स्वर्गीय गोपाल गिरीको स्मृतिमा स्थापना गरिएको स्व. गोपाल गिरी क्रियाशील पत्रकारिता पुरस्कार यस वर्ष वीरगञ्जका वरिष्ठ तथा क्रियाशील पत्रकार गोविन्द देवकोटालाई प्रदान गरिने भएको छ। पत्रकारिता क्षेत्रमा तीन दशकभन्दा बढी समयदेखि निरन्तर योगदान पुर्याएको आधारमा देवकोटालाई पुरस्कारका लागि छनोट गरिएको हो।
पर्सा जिल्लाका पूर्वमेयर तथा नेपाल पत्रकार महासंघ पर्सा शाखाका पूर्वअध्यक्ष स्व. गोपाल गिरीको सम्झनामा स्थापना गरिएको उक्त पुरस्कार प्रत्येक वर्ष पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान दिने व्यक्तित्वलाई प्रदान गरिँदै आएको छ। तत्कालीन वीरगञ्ज महानगरपालिकाका मेयर रहेका गिरीको वि.सं. २०६० माघ १ गते माओवादी विद्रोहीद्वारा हत्या गरिएको थियो।
पुरस्कृत हुने देवकोटा हाल सामुदायिक रेडियो प्रसारक संघका वरिष्ठ उपाध्यक्ष तथा वीरगञ्जस्थित नारायणी एफएमका अध्यक्ष हुनुहुन्छ। साथै उहाँ रेसखबर अनलाइनका संस्थापकसमेत हुनुहुन्छ।
यसअघि उक्त पुरस्कारबाट पर्साका बृजलाल पासवान, शत्रुघन नेपाल, ध्रुव साह, प्रताप श्रेष्ठ, महेशचन्द्र गौतम, विजय भण्डारी, केसी लामिछाने, श्याम बन्जारा, ओमप्रकाश खनाल, कन्हैयालाल केसरी, गया यादव र पंकज श्रेष्ठलगायत पत्रकारहरू सम्मानित भइसकेका छन्।
स्व. गोपाल गिरी क्रियाशील पत्रकारिता पुरस्कारले वीरगञ्ज तथा पर्सा क्षेत्रको पत्रकारिता सुदृढीकरणमा उल्लेखनीय योगदान पुर्याउँदै आएको आयोजक पक्षले जनाएको छ। यस वर्ष गोविन्द देवकोटालाई प्रदान गरिने पुरस्कारले स्थानीय पत्रकारिताको महत्व र गरिमालाई थप उजागर गर्ने विश्वास लिइएको छ।