गौतम माविमा विद्यार्थी परिषद् २०८२ को शपथग्रहण समारोह भव्य रूपमा सम्पन्न

107

 

वीरगंज, साउन ८

गौतम माध्यमिक विद्यालय, वीरगंजमा विद्यार्थी परिषद् २०८२ का नव निर्वाचित प्रतिनिधिहरूको पदभार ग्रहण, शपथ तथा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। विद्यालयको सभाहलमा आयोजित समारोहले विद्यार्थी नेतृत्व, अनुशासन र सामाजिक उत्तरदायित्वप्रति गहिरो सन्देश दिएको छ।

कार्यक्रम विद्यालयका प्रधानाध्यापक तथा परिषद् अध्यक्ष गणेश क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो। प्रमुख अतिथि नेपाली सेनाकी मेजर श्रीमती रेनु शाह रहनु भएको कार्यक्रममा उनले विद्यार्थी जीवनमै नेतृत्व विकास हुनु आवश्यक रहेको धारणा राख्दै भनिन्, “शिक्षा राष्ट्र निर्माणको आधार हो। यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई जिम्मेवार नागरिक बनाउने दिशामा मार्ग प्रशस्त गर्छ।”

शपथग्रहण समारोहमा हेड ब्वाय नमन श्रेष्ठ र हेड गर्ल नियासना श्रेष्ठले परिषद्को तर्फबाट एकता, उत्कृष्टता र प्रेरणाको भावना बोकेर विद्यालय नेतृत्वमा सक्रिय रहने अठोट व्यक्त गरे।

शैक्षिक विभागतर्फ प्रिफेक्ट ब्वायज सक्षम बर्णवाल र गर्ल्सतर्फ आयुषी चौरसियाले अध्ययन–अध्यापनको गुणस्तर सुधार्ने प्रतिबद्धता जनाए। अनुशासन विभागतर्फ अनमोल सिंह र मेघा गुप्ताले मर्यादा र कर्तव्य निष्ठाको बाचा गरे। खेलकुद विभागतर्फ निसान रोय र असरीका राज्यलक्ष्मीले टोली भावना र अनुशासनयुक्त प्रतिस्पर्धालाई प्रोत्साहन गर्ने प्रतिबद्धता जनाए।

ईसीए विभागका प्रिफेक्टहरू रिजन साह र आरोग्य चापागाईंले सह–पाठ्यक्रम गतिविधिमा सृजनात्मकता अभिवृद्धि गर्ने प्रतिज्ञा व्यक्त गरे। सामाजिक सेवा विभागतर्फ याशन्क अग्रवाल र रमा अग्रवालले विद्यालयलाई समुदायसँग जोड्ने कार्यमा लाग्ने बताए। डिजिटल वेलनेस विभागतर्फ सुभम कुमार गुप्ता र सगुन कर्णले डिजिटल सुरक्षा र सन्तुलनको अभ्यास गर्ने बताए।

चार हाउस — कर्णाली (रेड), कोशी (ब्लु), गण्डकी (ग्रीन), नारायणी (येलो) अन्तर्गत निर्वाचित मनिटर तथा विभागीय प्रमुखहरूलाई औपचारिक रूपमा ब्याच प्रदान गरिएको थियो।

कार्यक्रममा विद्यालयका वरिष्ठ शिक्षकहरू रमेश शर्मा, सौराज प्रधान, एलबिन रेन्जर, ललित कर्ण, सुनिल सरलगायत संचारकर्मीहरूको उपस्थिति रहेको थियो।

विशिष्ट अतिथिका रूपमा पत्रकार निरज पिठाकोटे मगर, अभिलाष गुप्ता, मानवसेवा आश्रमका देवेश गुप्ता, एलाड युथ सोसाइटीका संस्थापक अध्यक्ष ओम कुमार झाको उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन शिक्षक सौराज प्रधानले गर्नुभएको थियो। सहभागीहरूका अनुसार उक्त समारोहले विद्यार्थीहरूमा मूल्य, नेतृत्व, सहभागिता र सामाजिक जिम्मेवारी प्रवर्द्धनमा उल्लेखनीय भूमिका खेलेको  छ ।

 

Leave A Reply

Your email address will not be published.