चक्रघट्टामा निःशुल्क मोतियाबिन्दु आँखा शिविर सम्पन्न, २०९ जनाको सफल शल्यक्रिया

62

बिरगंज, १५ पुस । आनन्द पटेल

सर्लाही जिल्लाको चक्रघट्टा गाउँपालिकामा गाउँपालिकाकै पहलमा आयोजना गरिएको निःशुल्क मोतियाबिन्दु आँखा शिविर सफलतापूर्वक सम्पन्न भएको छ। २०८२ साल पुस ११ गतेदेखि १३ गतेसम्म सञ्चालन गरिएको उक्त शिविरबाट ९१८ जना सर्वसाधारणले निःशुल्क आँखा परीक्षण तथा औषधि सेवा प्राप्त गरेका छन्।

शिविरका क्रममा मोतियाबिन्दु पहिचान भएका २०९ जना बिरामीको सफल शल्यक्रिया गरिएको सामुदायिक आँखा अस्पतालका चिकित्सक डा. महेश सिंह धामीले जानकारी दिनुभयो। शल्यक्रिया तथा ओपीडी सेवा भरतपुर आँखा अस्पतालका वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. अमृत आचार्यको नेतृत्वमा आएको चिकित्सक टोलीले प्रदान गरेको हो।

शिविर सञ्चालनमा प्राविधिक सहयोग नेपाल नेत्र ज्योति संघ तथा भरतपुर आँखा अस्पतालले गरेका थिए भने वित्तीय सहयोग आरयूआईटी फाउन्डेसनले उपलब्ध गराएको थियो। साथै, आर्थिक व्यवस्थापन चक्रघट्टा गाउँपालिका, सर्लाहीले गरेको थियो। शिविरको आयोजना जनशक्ति युवा क्लबले गरेको हो।

उक्त आँखा शिविरमा चक्रघट्टा गाउँपालिकाकी उपप्रमुख मीना देवी रायले समेत मोतियाबिन्दुको शल्यक्रिया गराउनुभएको थियो। सर्वसाधारण नागरिकहरूसँगै एउटै शिविरमार्फत उपचार गराएर उहाँले सेवा, विश्वास र समानताको उदाहरण प्रस्तुत गर्नुभएको डा. धामीले बताउनुभयो।

स्थानीय तहको सक्रियता, विभिन्न संघ–संस्थाबीचको सहकार्य तथा चिकित्सक टोलीको समर्पणका कारण दुर्गम तथा आर्थिक रूपमा कमजोर नागरिकहरूले निःशुल्क र गुणस्तरीय आँखा उपचार सेवा पाएको स्थानीयवासीहरूले प्रतिक्रिया दिएका छन्। गाउँपालिकाले आगामी दिनमा पनि यस्ता स्वास्थ्य शिविरहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

Leave A Reply

Your email address will not be published.