टी–१० क्रिकेटमा चौथो दिन मिनिल्यान्ड, साउथजोन, मनकामना र एसआर ग्यालेक्सी विजयी

7

असोज ५, वीरगञ्ज —

निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) वीरगञ्जको आयोजनामा सञ्चालित दोस्रो संस्करणको अन्तर विद्यालय टी–१० क्रिकेट प्रतियोगिताअन्तर्गत शनिबार चौथो दिन पाँच वटा रोमाञ्चक खेल सम्पन्न भएका छन्।

वीरगञ्जको आदर्शनगर रङ्गशालामा सम्पन्न खेलहरूमा केटा तथा केटी दुवै तर्फका विद्यालय टोलीहरूले उत्कृष्ट प्रदर्शन गर्दै दर्शकहरूलाई उत्साहित बनाएका थिए।

चौथो दिनको पहिलो खेल केटा तर्फ मिनिल्यान्ड र मालिनीबीच भएको थियो। प्रतिस्पर्धात्मक खेलमा मिनिल्यान्डले मालिनीलाई ६ रनले पराजित गर्दै महत्वपूर्ण जित हासिल गर्‍यो। उक्त खेलमा सचिन पासवान ‘प्लेयर अफ द म्याच’ घोषित भए।

दोस्रो खेल केटी तर्फ साउथजोन र माउन्ट मकालुबीच सम्पन्न भयो। साउथजोनले माउन्ट मकालुलाई ६० रनको फराकिलो अन्तरले पराजित गर्दै सशक्त प्रदर्शन गर्‍यो। शिवानी साह ‘प्लेयर अफ द म्याच’ घोषित भइन्।

तेस्रो खेल केटा तर्फ मनकामना र सन शाइनबीच भएको थियो। मनकामनाले सन्तुलित खेल प्रदर्शन गर्दै सन शाइनलाई ३९ रनले पराजित गर्‍यो। सो खेलमा ओसिम आलम ‘प्लेयर अफ द म्याच’ बने।

चौथो खेल केटी तर्फ जीवन ज्योति र सन लाइटबीच सम्पन्न भयो। जीवन ज्योतिले उत्कृष्ट प्रदर्शन गर्दै सन लाइटलाई १० विकेटले पराजित गर्‍यो। उक्त खेलमा सलोनी कलवार ‘प्लेयर अफ द म्याच’ घोषित भइन्।

चौथो दिनको अन्तिम खेल केटा तर्फ सन लाइट र एस आर ग्यालेक्सीबीच भएको थियो। एस आर ग्यालेक्सीले सन लाइटलाई ९ विकेटले पराजित गर्दै प्रभावशाली जित दर्ता गर्‍यो। यस खेलमा चन्दन यादव ‘प्लेयर अफ द म्याच’ घोषित भए।

आयोजकका अनुसार प्रतियोगितामा सहभागी विद्यालय टोलीहरूबीच बढ्दो प्रतिस्पर्धाले खेललाई थप रोमाञ्चक बनाइरहेको छ। प्रतियोगिता आगामी दिनहरूमा पनि निरन्तर जारी रहनेछ।

आइतबार प्रतियोगिताको पाँचौँ दिन केटी तर्फ विकन स्कुल र रोयल एकेडेमीबीच बिहान ९ देखि १० बजेसम्म पहिलो खेल हुनेछ। दोस्रो खेल केटा तर्फ न्यु वेभ र साउथजोनबीच बिहान १०:३० देखि ११:३० बजेसम्म हुने छ। तेस्रो खेल केटी तर्फ मुनलाइट र गोल्डेन फ्युचरबीच दिउँसो १२:३० देखि १:३० बजेसम्म सञ्चालन हुनेछ।

यस्तै, चौथो खेल केटा तर्फ श्री आदर्श र लिटिल फ्लावरबीच दिउँसो २:०० देखि ३:०० बजेसम्म र अन्तिम खेल केटी तर्फ चिल्ड्रेन वर्ल्ड र मास्कोटबीच दिउँसो ३:३० देखि ४:३० बजेसम्म हुने आयोजक समितिले जानकारी दिएको छ।

Leave A Reply

Your email address will not be published.