डिजिटल स्वास्थ्य सेवामा अग्रसर वीरगञ्ज हेल्थ केयर, “स्वास्थ्य अब मोबाइल खल्तीमा”
साउन २१,वीरगञ्ज
वीरगञ्ज हेल्थ केयर अस्पतालले आफ्नो सेवा र पूर्वाधार विस्तार गर्दै अस्पतालको क्षमता १०० शय्याबाट बढाएर ३०० शय्या पुर्याउने तयारी थालेको छ।
अस्पतालका अध्यक्ष अबुल हैश अंसारीका अनुसार, सेवा विस्तारका लागि भौतिक पूर्वाधार निर्माण तीव्र गतिमा अगाडि बढाइएको छ। अस्पताल प्रशासनले विस्तारसँगै वीरगञ्ज तथा आसपासका जिल्लाका नागरिकहरूले झनै सहज, गुणस्तरीय र विशेषज्ञ सेवा पाउने विश्वास व्यक्त गरेको छ।
विगत पाँच वर्षदेखि अस्पतालले मुटुमा जाली राख्ने (Stent Placement), स्थायी पेसमेकर राख्ने, र घुँडा प्रत्यारोपण (Knee Replacement) जस्ता विशिष्ट उपचार सेवा नियमित रूपमा दिँदै आएको छ। यी सेवाले वीरगञ्ज र मधेस प्रदेशका नागरिकलाई राजधानी वा भारत जानुपर्ने झन्झटबाट छुट दिलाएको छ।
साथै, अस्पतालले “तपाईंको स्वास्थ्य अब तपाईंको मोबाइल खल्तीमा” भन्ने नारा सहित पूर्ण डिजिटल सेवा प्रणाली सञ्चालनमा ल्याएको छ। बिरामीले अब मोबाइलबाटै समय लिन, रिपोर्ट हेर्न, बिल भुक्तानी गर्न तथा अन्य सेवा उपयोग गर्न सक्ने व्यवस्था गरिएको छ।
८ वर्षदेखि सरकारी दररेटमै सेवा प्रदान गर्दै आएको वीरगञ्ज हेल्थ केयर अहिले संपूर्ण सेवा डिजिटल माध्यमबाट उपलब्ध गराउने पहिलो स्थानीय स्वास्थ्य संस्था बनेको छ, जसले स्वास्थ्य सेवा पहुँचमा क्रान्तिकारी सुधार ल्याएको छ। अस्पतालको डिजिटल कार्यहरू तेज हेल्थकेयरले गरिरहेको अस्पताल प्रशासनले जनाएको छ ।