निःशुल्क कपडा सेवाको ७ वर्ष पूरा, बिरगंज कपडा बैंक आठौँ वर्षमा प्रवेश

49

८ भदौ, वीरगञ्ज। बिरगंज कपडा बैंकले आफ्नो स्थापना दिवसको अवसरमा वीरगञ्जको घण्टाघरस्थित स्व। रामजन्म तिवारीको सालिक परिसरमा कपडा वितरण तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ।

वीरगञ्ज महानगरपालिका–८ मा कार्यालय स्थापना गरी नियमित रूपमा निःशुल्क कपडा वितरण गर्दै आएको बैंकले स्थापना दिवसको अवसरमा करिब ८० थान कपडा वितरण गरेको कोषाध्यक्ष मनोज मिश्राले जानकारी दिए। कपडा वितरणपछि दीप प्रज्वलनसमेत गरिएको थियो।

बिरगंज कपडा बैंकका अध्यक्ष लालबाबु सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बैंकका संरक्षक तथा समाजसेवी अधिवक्ता सुरेन्द्र कुर्मीको प्रमुख आतिथ्य रहेको थियो। कार्यक्रममा अधिवक्ताद्वय पन्नालाल गुप्ता र प्रकाश उपाध्याय विशिष्ट अतिथिका रूपमा सहभागी थिए।

त्यसैगरी नेपाल बार एसोसिएसन पर्साका सदस्य आशुतोष तिवारी, बैंकका सल्लाहकार तथा सामुदायिक प्रहरी कुम्हालटोलका सचिव श्रवणबहादुर रायमाझी, सदस्य जानकीदेवी, विपिन पटेल, कर्मचारी मिथलेश श्रीवास्तव, सञ्चारकर्मी राज सराफ, आकाश पटेललगायतको उपस्थिति थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि अधिवक्ता कुर्मीले ‘कोही पनि नाङ्गो नरहोस्’ भन्ने मूलमन्त्रका साथ दिनदुःखी तथा असहायलाई सेवा गर्ने उद्देश्यले कपडा बैंक स्थापना गरिएको बताए। सात वर्षको निरन्तर यात्रापछि बैंक आठौँ वर्षमा प्रवेश गरेको उल्लेख गर्दै उनले नयाँ तथा अधिकांश प्रयोग भइसकेका कपडामार्फत भए पनि आवश्यकतामा परेकाहरूको शरीर ढाक्ने सेवा गर्न पाउनु गौरवको विषय भएको बताए।

कुर्मीले कपडा तथा आर्थिक सहयोग गर्ने दाताहरूको निरन्तर सहयोगकै कारण बैंकले सात वर्षको यात्रा पूरा गर्न सफल भएको भन्दै सबै सहयोगीप्रति आभार व्यक्त गरे।

बैंकका अध्यक्ष लालबाबु सिंहले ‘तपाईंसँग धेरै छ भने हामीलाई दिनुस्, तपाईंलाई कमी वा आवश्यकता छ भने हामीसँग निःशुल्क लिएर जानुस्’ भन्ने मूलमन्त्रलाई आत्मसात् गर्दै बैंकले सेवा गर्दै आएको बताए।

उनका अनुसार वीरगञ्ज–८ स्थित बैंकको कार्यालयबाट दैनिक रूपमा निःशुल्क कपडा वितरण हुँदै आएको छ। साथै महिनामा एक–दुई पटक घण्टाघरलगायतका स्थानमा पुगेर तथा पर्सा–बाराका आगलागी र बाढीपीडितको घरसम्मै पुगेर कपडा वितरण गर्ने गरिएको छ। आवश्यकताअनुसार खाद्यान्न तथा अन्य सामग्रीसमेत सहयोग गर्दै आएको उनले बताए।

सिंहले बैंकको सेवाबाट प्राप्त हुने सन्तुष्टि शब्दमा व्यक्त गर्न कठिन हुने उल्लेख गर्दै स्थापना कालदेखि हालसम्म सहयोग गर्ने दाता, सल्लाहकार, शुभेच्छुक, सञ्चारगृह, पत्रकार, पदाधिकारी तथा सदस्यहरूप्रति धन्यवाद व्यक्त गरे।

उनले निःशुल्क कपडा वितरण अभियानमा अझै धेरै काम गर्न बाँकी रहेको भन्दै आगामी दिनमा सेवाको दायरा थप विस्तार गर्दै गुणस्तरीय सेवा प्रदान गर्ने योजना रहेको बताए। त्यसका लागि सबैको निरन्तर साथ र सहकार्य आवश्यक रहेको भन्दै उनले हातेमालो गर्न सबैलाई आग्रह गरे।

Leave A Reply

Your email address will not be published.