क्यान्सर पीडित महिलालाई बिजेश्वरप्रसाद चौधरीको ५ हजार सहयोग, थप सहयोगका लागि अपिल
३ भदौ, पर्सा आनन्द पटेल । जगरनाथपुर गाउँपालिका–२ की क्यान्सर पीडित एक महिलाको उपचारका लागि समाजसेवी बिजेश्वरप्रसाद चौधरीले ५ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन्। चौधरीले आर्थिक अवस्था कमजोर भएका तथा समस्यामा परेका परिवारलाई निरन्तर रूपमा सहयोग गर्दै आएका छन्।
केही समयदेखि क्यान्सरबाट पीडित ती महिलाको आर्थिक अभावका कारण समयमै अस्पताल पुगेर उपचार गराउनसमेत कठिनाइ भइरहेको छ। स्वास्थ्य अवस्था दिनप्रतिदिन नाजुक बन्दै गएपछि अहिले गाउँघरबाट सहयोग रकम संकलन गरी अस्पताल लैजाने तयारी गरिएको छ।
पीडित महिला हाल आफ्नै माइतीघरमा बस्दै आएकी छन्। उनको माइती परिवारको आर्थिक अवस्था पनि कमजोर रहेकाले उपचार खर्च जुटाउन समस्या भइरहेको बताइएको छ। उनका एक छोरा समेत रहेका छन्।
पीडित परिवारको अवस्थाबारे जानकारी पाएपछि समाजसेवी चौधरीले मानवीय सहयोगस्वरूप ५ हजार रुपैयाँ प्रदान गरेका हुन्। उनले यसअघि पनि विभिन्न समयमा विपन्न, असहाय तथा समस्यामा परेका व्यक्तिहरूलाई निरन्तर सहयोग गर्दै आएको बताइएको छ।
पीडित महिलाको उपचारका लागि वडा अध्यक्षसँग समेत सहयोगको आग्रह गरिएको छ भने गाउँपालिकाबाट समेत आवश्यक सहयोग उपलब्ध गराउन पहल भइरहेको छ। यस कठिन परिस्थितिमा पीडित परिवारलाई सहयोग गर्न इच्छुक व्यक्ति तथा संस्थालाई सक्दो आर्थिक सहयोग गरिदिन आग्रह गरिएको छ।
सहयोग गर्न इच्छुक व्यक्तिहरूले ९८२०२०४७०३ नम्बरमा सम्पर्क गर्न सक्नेछन्।