GTA Foundation र नेशनल मेडिकल कलेजको सहकार्यमा ३४ एम्बुलेन्स चालकलाई आधारभूत जीवनरक्षा तालिम

31

वीरगञ्ज, २ भदौ । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जमा GTA Foundation को सहकार्यमा एम्बुलेन्स चालकहरूका लागि आधारभूत जीवनरक्षा (BLS) सम्बन्धी विशेष तालिम सम्पन्न भएको छ।

आकस्मिक अवस्थामा बिरामीको प्रारम्भिक मूल्याङ्कन, हृदय–फोक्सो पुनर्जीवन (CPR), प्राथमिक उपचार तथा जीवनरक्षासम्बन्धी आवश्यक सीप अभिवृद्धि गर्ने उद्देश्यले आयोजित तालिममा ३४ जना एम्बुलेन्स चालकको सहभागिता रहेको थियो।

GTA Foundation ले सञ्चालन गरिरहेको ‘नेपालमा एम्बुलेन्स चालकहरूका लागि चरणबद्ध आधारभूत जीवनरक्षा तालिमको प्रभावकारिता’ सम्बन्धी अध्ययनअन्तर्गत तालिम आयोजना गरिएको हो। अध्ययनले एम्बुलेन्स चालकको ज्ञान, दक्षता र व्यवहारिक सीप विकास गरी आकस्मिक स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धिमा जोड दिएको छ।

मंगलबार बिहान ९ः३० देखि १२ः३० बजेसम्म नेशनल मेडिकल कलेजको सभाहलमा सञ्चालन भएको तालिममा GTA Foundation का ललिता अवाल, रुबी श्रेष्ठ र ललिता कुँवरको सहभागिता थियो। नेशनल मेडिकल कलेजका अस्पताल निर्देशक डा. इशरत जहानको नेतृत्वमा कार्यक्रम सञ्चालन गरिएको थियो।

तालिममा BLS-ToT सम्पन्न गरेका नर्सिङ इन्चार्ज गोमा के.सी. र दुर्गा चापागाईंले समेत सहजीकरण तथा प्रशिक्षण दिएका थिए। सहभागीलाई CPR, प्राथमिक उपचार, बिरामीको प्रारम्भिक मूल्याङ्कनलगायत विभिन्न जीवनरक्षासम्बन्धी व्यवहारिक अभ्यास गराइएको थियो। तालिम सम्पन्न गरेका चालकलाई प्रमाणपत्रसमेत प्रदान गरिएको थियो।

एम्बुलेन्स चालक आकस्मिक स्वास्थ्य सेवाको महत्वपूर्ण पहिलो सम्पर्क बिन्दु भएकाले उनीहरूको दक्षताले बिरामीको प्रारम्भिक व्यवस्थापन र सुरक्षित अस्पताल स्थानान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। GTA Foundation र नेशनल मेडिकल कलेजबीचको सहकार्यले अस्पताल पुग्नुअघिको आकस्मिक स्वास्थ्य सेवाको गुणस्तर सुधारमा योगदान पुग्ने विश्वास गरिएको छ।

Leave A Reply

Your email address will not be published.