निकोलस मादुरो अमेरिकी अदालतमा पहिलोपटक उपस्थित, ‘नार्को–टेररिज्म’ आरोप अस्वीकार
काठमाडौं। भेनेजुएलाका अपदस्थ राष्ट्रपति निकोलस मादुरोलाई पहिलोपटक अमेरिकी अदालतमा उपस्थित गराइएको छ। संघीय लागूऔषध तस्करी तथा ‘नार्को–टेररिज्म’ सम्बन्धी आरोपमा अदालतमा पेश गरिएका मादुरोले सबै आरोप अस्वीकार गर्दै आफू निर्दोष रहेको बताएका छन्।
न्यायाधीशसमक्ष उनले अहिले पनि आफू नै भेनेजुएलाको वैधानिक राष्ट्रपति रहेको दाबी गरे। अदालतमा उनले भने, “म निर्दोष छु। म दोषी होइन। म राम्रो मान्छे हुँ र आफ्नो देशको राष्ट्रपति हुँ।” अदालतले मादुरोको मुद्दामा आगामी मार्च १७ मा अर्को सुनुवाइ हुने जनाएको छ।
लागूऔषध तस्करीको आरोपमा अमेरिकी सेनाले भेनेजुएलाको राजधानी काराकासबाट पक्राउ गरी मादुरोलाई न्यूयोर्क ल्याएको बताइएको छ। सोमबार उनलाई नीलो जेल पोशाकमा उनकी पत्नीका साथ अदालतमा उपस्थित गराइएको थियो।
यो प्रारम्भिक कानुनी प्रक्रिया भए पनि यसले मादुरोमाथि अमेरिकामै मुद्दा चलाउन मिल्छ कि मिल्दैन भन्ने विषयमा लामो कानुनी लडाइँ सुरु हुने संकेत गरेको छ। यी आरोपहरू पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले मादुरोलाई पक्राउ गरी अमेरिका ल्याउन आधारका रूपमा प्रयोग गरेको बताइन्छ।
हाल मादुरोलाई ब्रुकलिनस्थित मेट्रोपोलिटन डिटेन्सन सेन्टर (एमडीसी) मा राखिएको छ। सन् १९९० को सुरुवातमा स्थापना भएको यस कारागारमा हाल करिब १ हजार ३०० कैदी छन्। म्यानह्याटन र ब्रुकलिनका संघीय अदालतमा मुद्दा खेपिरहेका अभियुक्तहरूलाई प्रायः यहीँ राखिने गरिन्छ। यहाँ गिरोहसँग सम्बन्धित अभियुक्त र लागूऔषध तस्करीका आरोपीहरू समेत थुनामा रहने गर्छन्।
ब्रुकलिनस्थित यस डिटेन्सन सेन्टरमा राखिने मादुरो पहिलो राष्ट्रपति भने होइनन्। यसअघि होन्डुरसका पूर्वराष्ट्रपति जुआन ओरल्यान्डो हर्नान्डेजलाई पनि यहीँ राखिएको थियो। उनीमाथि अमेरिकामा सयौं टन कोकिन तस्करीको अभियोग लागेको थियो। दोषी ठहर भई ४५ वर्षको सजाय सुनाइएपछि उनलाई गत डिसेम्बरमा राष्ट्रपति डोनाल्ड ट्रम्पले माफी दिएर रिहा गरेका थिए।
हाल यही कारागारमा मेक्सिकोको सिनालोआ ड्रग कार्टेलका सह–संस्थापक इस्माइल एल मायो जाम्बाडा गार्सिया तथा युनाइटेडहेल्थकेयरका सीईओको हत्या अभियोगमा पक्राउ परेका लुइगी मान्जियोनी पनि थुनामा छन्।
यसअघि क्रिप्टो उद्यमी साम बैंकम्यान–फ्राइड र जेफ्री एपस्टिनकी सहयोगी गिस्लेन म्याक्सवेललाई पनि यही कारागारमा राखिएको थियो।