पकाहामैनपुर स्थित श्री राम चरित्र भगत माविमा व्यवस्थापन समिति सक्रिय, शैक्षिक र भौतिक सुधार तीव्र

84

पर्सा, पकाहामैनपुर।

पकाहामैनपुर गाउँपालिकामा अवस्थित श्री राम चरित्र भगत माध्यमिक विद्यालयमा नयाँ व्यवस्थापन समिति सक्रिय बनेसँगै विद्यालयको शैक्षिक तथा भौतिक सुधारका कार्यहरू तीव्र रूपमा अघि बढ्न थालेका छन्।

विद्यालयलाई व्यवस्थित, स्वच्छ र विद्यार्थीमैत्री बनाउने उद्देश्यका साथ व्यवस्थापन समितिले विभिन्न सुधार योजनाहरू कार्यान्वयनमा ल्याएको छ। सोही क्रममा विद्यालय परिसरको सरसफाइ, फोहोर व्यवस्थापन तथा सौन्दर्यकरणलाई पहिलो प्राथमिकतामा राखिएको छ। स्वच्छ र सुरक्षित शैक्षिक वातावरण निर्माणका लागि नियमित सरसफाइ अभियानसमेत सञ्चालन भइरहेको छ।

त्यसैगरी, विद्यालयको पुस्तकालय व्यवस्थापनलाई प्रभावकारी बनाउँदै लाइब्रेरी नियमित सञ्चालनमा ल्याइएको छ। विद्यार्थीहरूको अध्ययन–अध्यापनलाई थप सहयोग पुर्‍याउने उद्देश्यले पाठ्यक्रमसँग सम्बन्धित तथा अतिरिक्त ज्ञानमूलक पुस्तकहरू उपलब्ध गराउने काम भइरहेको विद्यालयले जनाएको छ।

विद्यालयमा बाल विकास कक्षा पनि व्यवस्थित रूपमा सञ्चालन गरिएको छ। साना बालबालिकाको सर्वाङ्गीण विकासलाई ध्यानमा राख्दै कक्षाकोठा व्यवस्थापन, शैक्षिक सामग्रीको प्रयोग तथा सिकाइमैत्री वातावरण निर्माणमा विशेष जोड दिइएको व्यवस्थापन समितिका अध्यक्ष राजेश सहनीले जानकारी दिए।

उनका अनुसार विद्यालय सौन्दर्यकरणका लागि ४ सयवटा फूल तथा बिरुवा माग गरिएको छ भने १० दिनभित्र सौन्दर्यकरणका सम्पूर्ण कार्य सम्पन्न गर्ने लक्ष्य लिइएको छ। यसबाट विद्यालय परिसर हराभरा र आकर्षक बन्नुका साथै विद्यार्थीहरूमा वातावरणीय चेतना र प्रकृतिप्रतिको जिम्मेवारीको भावना विकास हुने अपेक्षा गरिएको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेश सहनी र प्रधानाध्यापक पप्पु प्रसाद चौहानको सक्रियता, समन्वय र नेतृत्वमा सुधारका यी प्रयासहरू अघि बढिरहेका छन्। उनीहरूको पहललाई अभिभावक, शिक्षक तथा स्थानीय समुदायले सकारात्मक रूपमा लिएका छन्।

स्थानीयवासीहरूका अनुसार नयाँ व्यवस्थापन समिति गठनपछि विद्यालयमा नियमित अनुगमन तथा निरीक्षणको कार्य भइरहेको छ, जसले विद्यालय र विद्यार्थीहरूको उज्वल भविष्यप्रतिको आशा अझ बलियो बनाएको छ। आगामी दिनमा शैक्षिक गुणस्तर थप सुधार गर्दै विद्यालयलाई नमूना शैक्षिक संस्थाका रूपमा विकास गर्ने लक्ष्य लिइएको छ।

Leave A Reply

Your email address will not be published.