पर्सामा दिवा बस सेवा दिउँसो २ बजेभित्रै छुट्नुपर्ने निर्णय कार्यान्वयनमा

44

तस्बिर : AI द्वारा निर्मित

वीरगञ्ज, कार्तिक १०  आनन्द पटेल।

पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय स्थानीय प्रशासन र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले आजदेखि कार्यान्वयनमा ल्याएका छन्।

यात्रुहरूको सुरक्षा सुनिश्चित गर्ने तथा रातिको समयमा हुने सम्भावित सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले उक्त निर्णय कार्यान्वयनमा ल्याइएको हो। रातिको समयमा लामो दूरीको यात्रा गर्नुपर्ने यात्रुहरूलाई रात्रि बस सेवामार्फत मात्रै यात्रा गर्न यातायात व्यवस्था कार्यालय, ट्राफिक प्रहरी कार्यालय पर्सा तथा यातायात व्यवसायीहरूले आग्रह गरेका छन्।

२०८३ साल वैशाख २४ गते बिहीबार प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा बसेको जिल्लामा सवारी आवागमन तथा यात्रु सुरक्षासम्बन्धी बैठकले गरेको निर्णय पूर्ण रूपमा पालना गर्न सम्बन्धित निकाय, यातायात व्यवसायी तथा यात्रुहरूलाई अनुरोध गरिएको छ।

निर्णय कार्यान्वयनमा आएपछि बस व्यवसायीहरू जगन्नाथ साह, अफताब आलम र सन्तोष साहलगायतले यसको स्वागत गरेका छन्। यात्रुहरूले पनि सुरक्षित यात्रालाई प्राथमिकता दिँदै गरिएको यस निर्णयप्रति सकारात्मक प्रतिक्रिया जनाएका छन्।

दिवा सेवाका सवारीसाधन निर्धारित समयभित्रै प्रस्थान गर्ने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेमा यात्रुहरूलाई सुरक्षित गन्तव्यसम्म पुग्न सहज हुने र रातिको समयमा हुन सक्ने जोखिम न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सम्बन्धित निकायले निर्णयको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक पहल गर्न तथा यातायात व्यवसायी र यात्रुहरूलाई निर्धारित नियमको पालना गर्न आग्रह गरेका छन्।

यस निर्णयको प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित निकायले बसपार्क तथा सवारी प्रस्थान हुने स्थानमा निगरानी बढाउनुपर्ने आवश्यकता औँल्याइएको छ। साथै, यात्रुहरूलाई यात्रा गर्नु अघि सवारी छुट्ने समयबारे सम्बन्धित काउन्टरबाट जानकारी लिन आग्रह गरिएको छ।

 

Leave A Reply

Your email address will not be published.