पर्सामा १२ लाख भन्दा बढी मूल्यको अवैध औषधि सहित एक युवक पक्राउ
वीरगञ्ज , विशेष सूचनाका आधारमा प्रहरीले भारतबाट भन्सार छली गरी ल्याइएका विभिन्न प्रकारका औषधिसहित एक युवक र सवारीसाधन नियन्त्रणमा लिएको छ।
पर्साको विन्दवासिनी गाउँपालिका वडा नं।४ मधवलस्थित सडकखण्ड हुँदै भारतबाट चोरी पैठारी गरी ना।५ च २४८३ नम्बरको पिकअप गाडीमा जिल्ला बारा, जितपुर सिमरा उपमहानगरपालिका वडा नं।५ का २४ वर्षीय सुनिल कुमार रामले विभिन्न प्रकारका औषधिहरू लोड गरी वीरगञ्जतर्फ ल्याउँदै गरेको पाइएको थियो।
औषधिसम्बन्धी आवश्यक कागजात, विशेषगरी विलबिजक नभएको पाइएपछि गाडी, चालक राम, र औषधि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
प्रहरीका अनुसार बरामद औषधिको अनुमानित मूल्य १२ लाख ७८ हजार ५ सय २० रहेको छ।
जफत गरिएको पिकअप गाडी, पक्राउ परेका व्यक्ति, र बरामद औषधि थप अनुसन्धान तथा कारबाहीका लागि आजै वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिनुभयो।