पर्सा–२ मा जसपाका अशोक टेमानीको घरदैलो तीव्र, वडा २५ मा १५० युवा पार्टी प्रवेश

9

वीरगञ्ज, ०२ फागुन।

पर्सा निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार अशोक टेमानी ले घरदैलो अभियानलाई तीव्र बनाउँदै वीरगञ्ज महानगरपालिका वडा नं. २५ का मतदातासँग भेटघाट तथा प्रत्यक्ष संवाद गरेका छन्। जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार टेमानीले चुनावी प्रचारप्रसार अन्तर्गत बुधबार उक्त वडाका विभिन्न टोलमा पुगेर स्थानीयसँग छलफल गरेका हुन्।

घरदैलोका क्रममा टेमानीले स्थानीयवासीसँग हातेमालो गर्दै उनीहरूका समस्या, आवश्यकता र अपेक्षाबारे जानकारी लिएका थिए। विकास, रोजगारी र आधारभूत सेवाको पहुँच अभावले ग्रामीण क्षेत्रका बासिन्दा अझै पनि समस्या झेल्न बाध्य रहेको उल्लेख गर्दै उनले ती समस्या समाधानलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए।

वडा नं. २५ ग्रामीण क्षेत्र भएकाले यहाँ विशेष गरी खानेपानी, शिक्षा, स्वास्थ्य तथा कृषि क्षेत्रमा समस्या रहेको स्थानीयले गुनासो गरेका छन्। कतिपय बस्तीमा स्वच्छ खानेपानीको अभाव, विद्यालयमा आवश्यक पूर्वाधार र गुणस्तरीय शिक्षाको कमी तथा स्वास्थ्य सेवाको पहुँच कमजोर रहेको उनीहरूको भनाइ थियो।

स्थानीय कृषकहरूले समयमै मल, बीउ र सिँचाइ सुविधा नपाउँदा उत्पादन घट्दै गएको तथा उचित मूल्यमा उपज बिक्री गर्न कठिनाइ भएको बताएका छन्। सामान्य उपचारका लागि समेत टाढा जानुपर्ने बाध्यता रहेको भन्दै स्वास्थ्य क्षेत्रमा सुधारको माग गरिएको थियो।

उम्मेदवार टेमानीले जनताको समस्या आफ्नै समस्या भएको उल्लेख गर्दै योजनाबद्ध रूपमा समाधानतर्फ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। उनले खानेपानी, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखेर ग्रामीण भेगको समग्र विकासमा जोड दिने बताए।

“जनताको आधारभूत आवश्यकता पूरा नगरी समृद्धि सम्भव हुँदैन। त्यसैले यस क्षेत्रका वास्तविक समस्या समाधान गर्न म प्रतिबद्ध छु,” उनले भने।

यसै क्रममा वडा नं. २५ का करिब १५० जना युवा जसपामा प्रवेश गरेका छन्। नवप्रवेशी युवाहरूलाई उम्मेदवार टेमानीले स्वागत गर्दै पार्टीको झण्डा हस्तान्तरण गरेका थिए। उनले युवाहरूको सक्रिय सहभागिताले अभियानलाई थप ऊर्जा मिलेको उल्लेख गरे।

नवप्रवेशी युवाहरूले क्षेत्रको विकास, रोजगारी सिर्जना र परिवर्तनको आशामा जसपामा आबद्ध भएको बताएका छन्। उनीहरूले यसपटक परिवर्तनका पक्षमा उभिने प्रतिबद्धता व्यक्त गरेका थिए।

घरदैलो कार्यक्रममा सहभागी स्थानीय मतदाताहरूले आफ्ना समस्या सुन्न उम्मेदवार प्रत्यक्ष आएकोप्रति सकारात्मक प्रतिक्रिया दिएका छन्। टेमानीले आगामी दिनमा पनि क्षेत्रका अन्य वडामा पुगेर प्रत्यक्ष संवादलाई निरन्तरता दिने बताएका छन्।

Leave A Reply

Your email address will not be published.