पर्सा–२ मा जसपा उम्मेदवार टेमानी सक्रिय, शिक्षा–स्वास्थ्यदेखि रोजगारीसम्मका मुद्दामा प्रत्यक्ष संवाद

64

वीरगंज (पर्सा), २४ माघ ।

पर्सा निर्वाचन क्षेत्र नं. २ मा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार अशोक टेमानीले घरदैलो अभियानलाई थप तीव्र बनाएका छन्। चुनावी प्रचार–प्रसारको क्रममा टेमानीले बहुदरमाई नगरपालिका वडा नं. २ सिसियारी बैरियाका मतदातासँग प्रत्यक्ष भेटघाट तथा संवाद गरेका हुन्।

घरदैलो कार्यक्रमका क्रममा टेमानीले स्थानीय बासिन्दासँग शिक्षा, स्वास्थ्य, रोजगारी, खानेपानी, सडक तथा अन्य आधारभूत सेवासम्बन्धी समस्याबारे जानकारी लिएका थिए। मतदाताबाट प्राप्त सुझाव र अपेक्षालाई गम्भीरतापूर्वक लिँदै उनले आफू निर्वाचित भएपछि ती विषयलाई संसदमा प्राथमिकताका साथ उठाउने प्रतिबद्धता जनाए।

‘म नेता होइन, जनताको सेवक भएर काम गर्न आएको हुँ,’ टेमानीले भने, ‘विगतको राजनीतिक अभ्यासभन्दा फरक, जवाफदेही र जनमुखी राजनीति आजको आवश्यकता हो।’

जसपा उम्मेदवार टेमानी पछिल्लो एक सातादेखि पर्सा क्षेत्र नं. २ का विभिन्न स्थानमा पुगेर मतदातासँग भेटघाट, छलफल तथा समस्या सुन्ने कार्यमा सक्रिय रहेका छन्। वीरगंज महानगरपालिकाका वडाहरू साथै पर्सागढी र बहुदरमाई नगरपालिकाका गाउँ–टोलमा पुगेर उनले जनताको समस्या बुझ्ने अभियानलाई सशक्त बनाएका हुन्। निर्वाचित भएपछि जनताले उठाएका गुनासा तथा समस्यालाई समाधान गर्न सक्ने आधार तयार पार्ने उद्देश्यले घरदैलो अभियानलाई तीव्र बनाइएको टेमानीको भनाइ छ।

मतदातासँगको प्रत्यक्ष संवादका क्रममा टेमानीले मधेश र पर्साको दीर्घकालीन विकासका लागि स्पष्ट योजना आवश्यक रहेको बताएका थिए। वीरगंजसहित पर्सा जिल्लालाई आर्थिक तथा औद्योगिक केन्द्रका रूपमा विकास गर्न संघीय सरकारमा बलियो प्रतिनिधित्व अपरिहार्य रहेको उनको धारणा थियो।

‘जनताको पीडा बुझ्ने, जनतासँगै हिँड्ने र जनताकै आवाज संसदमा पुर्‍याउने प्रतिनिधि आजको आवश्यकता हो,’ उनले थपे।

घरदैलो अभियानमा सहभागी स्थानीय मतदाताले टेमानीको सरल स्वभाव, सहज पहुँच र सक्रिय नेतृत्वको प्रशंसा गरेका छन्। लामो समयदेखि क्षेत्रमै निरन्तर सक्रिय रहँदै आएका टेमानीले जनताको विश्वास जित्ने दिशामा ठोस भूमिका निर्वाह गरिरहेको स्थानीयको भनाइ छ।

घरको आँगनमै पुगेर उम्मेदवारसँग भेट हुँदा स्थानीयवासी उत्साहित देखिएका थिए। उनीहरूले भौतिक पूर्वाधार, सडक तथा नाला व्यवस्थापन, शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर, सिँचाइ सुविधा, मल–बीउको उपलब्धता तथा कृषिउपजको उचित मूल्य नपाएको विषयमा गुनासो व्यक्त गरेका थिए। ती समस्यालाई दीर्घकालीन समाधानतर्फ लैजान नीति निर्माणदेखि कार्यान्वयनसम्म सक्रिय भूमिका खेल्ने प्रतिबद्धता टेमानीले जनाएका छन्।

बहुदरमाई नगरपालिका वडा नं. २ अन्तर्गतका टोलहरूमा शिक्षा, स्वास्थ्य, रोजगारी तथा कृषिका समस्या गम्भीर रहेकाले यसपटक मतदाता परिवर्तनको अपेक्षासहित मतदानका लागि उत्साहित देखिएका छन्। विगतमा निर्वाचित भएर सरकारमा पुगेकाहरूले जनहितभन्दा व्यक्तिगत स्वार्थलाई प्राथमिकता दिएको गुनासो गर्दै स्थानीयले यसपटक सचेत निर्णय गर्ने बताएका छन्।

Leave A Reply

Your email address will not be published.