पर्सा–३ मा परिणाममुखी र सकारात्मक राजनीतिको खोजी, रुपेश पाण्डेय साझा अपेक्षाको केन्द्रमा

98

पर्सा । आगामी फागुनमा हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा पर्सा निर्वाचन क्षेत्र नम्बर ३ मा राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ। लामो समयदेखि दोहोरिँदै आएको परम्परागत राजनीतिबाट आजित मतदाताहरू अब परिणाममुखी, जवाफदेही र जनमुखी नेतृत्वको खोजीमा देखिएका छन्। यही परिवेशमा व्यावसायिक पृष्ठभूमिबाट समाजसेवामा सक्रिय रुपेश पाण्डेय पर्सा–३ मा युवादेखि व्यापारी, बुद्धिजीवी र राजनीतिक दलका कार्यकर्तासम्मको साझा अपेक्षाको केन्द्रमा उभिन थालेका छन्।

रुपेश पाण्डेयको राजनीतिक दृष्टिकोण “सानालाई माया, पूरानालाई सम्मान” भन्ने मान्यतामा आधारित रहेको छ। यही सोच र व्यवहारका कारण उनी दलगत सीमाभन्दा माथि उठेर राजनीतिक दलका कार्यकर्ता, स्वतन्त्र सोच राख्ने नागरिक तथा तटस्थ मतदातामाझ समान रूपमा लोकप्रिय बन्दै गएका छन्। स्थानीयका अनुसार पाण्डेयले कसैलाई कमजोर वा प्रतिस्पर्धीका रूपमा नभई सबैलाई साझेदारका रूपमा हेर्ने राजनीतिक संस्कारको अभ्यास गरिरहेका छन्।

राजनीतिक गालीगलौज, आरोप–प्रत्यारोप र व्यक्तिगत कटाक्षभन्दा टाढा रहेर विकास निर्माण र नीतिगत एजेन्डालाई प्राथमिकतामा राख्दै पाण्डेय मतदातासँग निरन्तर संवादमा जुटिरहेका छन्। उनले सार्वजनिक रूपमा अबको राजनीति भिडन्त होइन, समाधान खोज्ने प्रक्रिया हुनुपर्ने धारणा व्यक्त गर्दै आएका छन्। यही कारण उनी पर्सा–३ मा संयमित, परिपक्व र सकारात्मक राजनीतिक अनुहारका रूपमा परिचित हुँदै गएका छन्।

स्थिर व्यवसायिक जीवनलाई थाती राखेर राजनीतिक यात्रामा होमिएका पाण्डेय समाजका लागि केही गर्नुपर्ने हुटहुटी र जनताको आवाज नीति तथा निर्णय प्रक्रियामा पुर्‍याउने चाहनाका कारण राजनीतिमा प्रवेश गरेको बताउँछन्। व्यवसायिक जीवनमा आर्जन गरेको विश्वसनीयता, व्यवस्थापन क्षमता र परिणाममुखी सोचलाई सार्वजनिक सेवामा प्रयोग गर्ने उनको प्रतिबद्धता रहेको छ।

“पार्टीभन्दा जनता ठूलो हुन्छ” भन्ने मान्यतालाई व्यवहारमा उतार्दै पाण्डेय चिया पसलदेखि टोल–गल्ली, बजारदेखि गाउँबस्तीमा पुगेर नागरिकका समस्या सुन्ने, बुझ्ने र समाधान खोज्ने अभियानमा सक्रिय छन्। जनताको सहभागिताबिना कुनै पनि परिवर्तन सम्भव नहुने उनको विश्वास छ।

नयाँ पुस्तालाई राजनीतिमा अगाडि ल्याउनुपर्ने उनको धारणा अर्को प्रमुख एजेन्डा हो। जेन–जी आन्दोलनपछि देशभर उठेको युवा नेतृत्वको आवाजलाई पर्सा–३ मा व्यवहारिक रूपमा अघि बढाउने प्रयासमा उनी देखिन्छन्। पुराना अनुभव र नयाँ ऊर्जाबीच सन्तुलन आवश्यक रहेको उनको दृष्टिकोणले युवामाझ विशेष आकर्षण पैदा गरेको छ।

पाण्डेयले पोखरिया, पकाहा, महुवन, चीपुरलगायत क्षेत्रका बजारलाई व्यवस्थित र आधुनिक बनाउने, कृषिमा प्रविधिको प्रयोग बढाउने, शिक्षा र स्वास्थ्य सेवामा सहज पहुँच विस्तार गर्ने तथा धार्मिक स्थलहरूको संरक्षण र प्रवर्द्धनमार्फत पर्यटन र रोजगारी सिर्जना गर्ने योजनालाई प्राथमिकतामा राखेका छन्। राष्ट्रिय निकुञ्जसँग समन्वय गर्दै धार्मिक गन्तव्यलाई राष्ट्रियस्तरको आकर्षण बनाउने उनको भिजनलाई स्थानीयले सकारात्मक रूपमा लिएका छन्।

पर्सा–३ अन्तर्गतका सात स्थानीय तह र ३५ वडालाई समेट्ने एकीकृत दीर्घकालीन विकास योजनामार्फत आर्थिक, सामाजिक र पूर्वाधार विकास गर्ने प्रतिबद्धता जनाउँदै पाण्डेयले अब नेतृत्वको मूल्यांकन पार्टीको झण्डा वा भाषणबाट होइन, जनताको जीवनमा आएको परिवर्तनबाट हुनुपर्ने बताएका छन्।

धर्म–संस्कृति संरक्षण, सामाजिक सद्भाव, सहकार्य र मेलमिलापलाई सुदृढ बनाउने दृष्टिकोणका कारण रुपेश पाण्डेयको छवि समुदायमा थप मजबुत बन्दै गएको छ। जनताको साथलाई नै आफ्नो सबैभन्दा ठूलो शक्ति मानेर अघि बढिरहेका पाण्डेय अहिले पर्सा–३ मा सकारात्मक राजनीति अभ्यास गर्ने र नयाँ पुस्तालाई अघि सार्ने सम्भावित नेतृत्वका रूपमा स्थापित हुँदै गएका छन्।

Leave A Reply

Your email address will not be published.